भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात क्षेत्रलाई थप व्यवस्थित बनाउने कार्य सरकारले उच्च प्राथमिकतामा रहेको बताएका छन्।
यसका लागि नीतिगत सुधारदेखि त्यसको कार्यान्वयनमा कार्यान्वयनमा ध्यान दिइएको उनको भनाइ छ ।
नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिद्वारा चन्द्रागिरि नगरपालिका–७ मा निर्मित भवनको आज उद्घाटन गर्दै मन्त्री दाहालले यातायात क्षेत्रसँग सम्बन्धित विभिन्न कानुन संशोधनलाई समेत मन्त्रालयले प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गरे।
उनले सवारीसाधनलाई भारबहन क्षमताअनुसार सञ्चालन गर्ने प्रबन्ध कडाइका साथ लागू गरिने पनि बताए। “नेपाली सडक तथा संरचनाको दिगो उपयोगका लागि भारबहन क्षमता कडाइका साथ लागू गर्न आवश्यक छ । अधिक भार भएका मालबाहक सवारीसाधनका कारण नेपालका पुल तथा सडकमा ठूलो नोक्सानी हुने गरेको छ । सीमा क्षेत्रदेखि नै यसको नियन्त्रण गर्छौं”, उनले भने।
नेपालका सडक, पुल लगायतका संरचनाको संरक्षण सबैको दायित्व रहेको पनि मन्त्री दाहालको भनाइ थियो । “हाम्रो भूबनोट तथा सडकको अवस्थाअनुसार पुलको निर्माण गरिएको हुन्छ । निश्चित भार क्षमताका ती संरचनामा जथाभावि अधिक भार भएका सवारीसाधन त चलाउनु भएन नि ! हाम्रा संरचनाको संरक्षण गर्ने जिम्मेवारी हामी सबैको हो”, उनले भने।
प्रतिक्रिया दिनुहोस्