काठमाडौ । इंग्ल्यान्ड र भारतबिच जारी ५ खेलको टेस्ट सिरिजअन्तर्गत दोस्रो टेस्टमा भारतले इंग्ल्यान्डलाई ३ सय ३६ रनले पराजित गरेको छ। बर्मिङ्घम टेस्टमा भारतले इंग्ल्यान्ड समक्ष जितका लागि ६ सय ८ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
जवाफमा अन्तिम दिन इंग्ल्यान्ड २ सय ७१ रनमा समेटिएपछि भारतले फराकिलो जित हासिल गरेको हो। जितसँगै सिरिज १-१ को बराबरीमा पुगेको छ। यि दुईबिचको तेस्रो टेस्ट लर्ड्समा आगामी १० जुलाई देखी सुरु हुने छ।
दोस्रो टेस्टमा भारतका लागि कप्तान शुभमन गिलले दोस्रो इनिङमा पनि सानदार शतकीय इनिङ खेले। उनले १ सय ६१ रन बनाए। त्यसअघि उनले पहिलो इनिङमा २ सय ६९ रन बनाएका थिए। योसँगै उनी एकै टेस्टमा ४ सय प्लस स्कोर बनाउने पहिलो भारतीय खेलाडी बन्न समेत सफल भए। भारतले टेस्टको दुवै इनिङमा गरी कुल १०१४ रन बनाउन सफल भयो। टेस्ट इतिहासमा भारतले एकै टेस्टमा १ हजार रनको आँकडा पुरा गरेको पहिलो पटक हो।
भारतका लागि गिल बाहेक केएल राहुलले ५५ रन बनाउँदा ऋषभ पन्तले ६५ तथा रविन्द्र जडेजाले ६९ रनको नटआउट इनिङ खेले। भारतले ६ विकेट गुमाएर ४२७ रन बनाएर समग्रमा ६ सय ८ रन बनाउँदा इनिङ समाप्तीको घोषणा गरेको थियो।
अन्तिम दिन ३ विकेट गुमाएर ७२ रनबाट खेल सुरु गरेको इंग्लिस टिम २ सय ७१ रनमा समेटियो। इंग्ल्यान्डलाई अलआउट गर्ने क्रममा भारतका लागि आकाश दिपले ६ विकेट हात पारे। त्यस्तै मोहम्मद सिराज, प्रसिद्ध कृष्ण, रविन्द्र जडेजा र वासिंङ्गटन सुन्दरले समान १-१ विकेट लिए।
अन्तिम दिन इंग्ल्यान्डलाई जितका लागि ५ सय ३६ रन आवश्यक थियो भने भारतलाई ७ विकेट चाहिएको थियो। जहाँ भारतले बाजि मार्न सफल भयो। इंग्ल्यान्डका लागि जेमी स्मिथले ८८ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक बेन डकले २५ रन बनाउँदा ओली पप २४ रनमा आउट भए। त्यस्तै ह्यारी ब्रुक्स २३ रनमा पेभिलियन फर्किदा कप्तान बेन स्टोक्सले ३३ रन र ब्रायडन कर्सले ३८ रन बनाए। सोइब बसिर १२ रनमा नटआउट रहे।
त्यसअघि पहिलो इनिङमा इंग्लयान्डले ह्यारी ब्रुक्सको १ सय ५८ र जेमी स्मिथको १ सय ८४ रनको शतकीय इनिङमा ४ सय ७ रन बनाएको थियो। तर दोस्रो इनिङम टिम एकदिन टिक्न नसक्दा सम्भावित बराबरीको अवसरबाट इंग्ल्यान्ड चुकेको थियो।
प्रतिक्रिया दिनुहोस्