मोरङको सुन्दरहरैचा नगरपालिका–७ स्थित गोठगाउँ विश्वविद्यालय टोल विकास संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै अनुकरणीय कार्यहरू गर्दै आएको छ। यसै सन्दर्भमा संस्थाले टोलका अशक्त, दीर्घरोगी तथा जेष्ठ नागरिकहरूको घरदैलोमा पुगेर सम्मान तथा सुस्वास्थ्यको कामना गर्दै आशीर्वाद ग्रहण गर्ने विशेष कार्यक्रम गरिरहेको छ।

यही असार २२ गते शनिबार टोल विकास संस्थाका पदाधिकारीहरूले वृद्ध आमाबुवाको घरघरमा पुगेर आत्मीय भेटघाट गर्यो । यसैगरी पदाधिकारीहरुले स्वास्थ्य अवस्थाबारे जानकारी लिए। सोही कार्यक्रमको अवसरमा टोल विकासले स्थानीय व्यक्तित्व जीवननाथ भट्टराई र वहाँकी धर्मपत्नी सावित्रा देवी भट्टराईलाई सम्मान गरेको छ । हाल सुन्दरहरैचा नगरपालिका गोठगाउँमा स्थायी वसोवास गर्दै आउनु भएका जीवनाथ भट्टराई दैवी प्रेरणाबाट ७ वर्षको उमेरदेखि नै अन्न त्याग गरी फलफुलको रूपमा दैनिक स्याउ, कैली गाईको दुध मात्र सेवन गरी जीवन निर्वाह गर्दै आउनु भएको छ।

भट्टराईले देवताको सेवा, पितृ सेवा र गौ सेवा तथा आफ्नो मन्दिरमा आउने भक्तजनहरूलाई दुःख मुक्त गर्न निस्वार्थ सहयोग पुर्याउदै आउनुभएको छ। त्यसैगरी उहाँकी धर्मपत्नी सावित्रा देवी भट्टराई ४० वर्षदेखि नुन, तेल त्यागी उहाँको सेवा गर्दै आउनुभएको छ। उहाँहरूलाई गोठगाउँ विश्वविद्यालय टोल विकास संस्था र सामाजिक अभियन्ताको तर्फबाट सम्मान गरिएको छ। यस्तो त्याग र समर्पणका लागि टोल विकास संस्थाले सम्मानपत्र प्रदान गर्दै वहाँहरूको योगदानलाई कदर गरेको छ।
कार्यक्रममा संस्थाका अध्यक्ष केशव भट्टराई, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सल्लाहकार पोस्टकुमार श्रेष्ठ दुर्गा भट्टराईलगायत अन्य सदस्यहरूको उपस्थिति रहेको थियो। सामाजिक सद्भाव र आत्मीयता प्रवर्द्धनमा जोड दिँदै अध्यक्ष भट्टराईले वृद्ध र असहाय नागरिकहरूको सेवा गर्नु संस्थाको मात्र नभई सम्पूर्ण समाजको कर्तव्य भएको उल्लेख गर्नु भयो। उहाँले भन्नुभयो, “विकास संरचनामात्र होइन, समाजका असहाय सदस्यप्रति संवेदनशील पनि हुनुपर्छ। उहाँहरूको अनुहारमा मुस्कान ल्याउनु नै हाम्रो साँचो सेवा हो।’

टोल विकास संस्थाका सदस्यहरुले संस्थाको यस्तो कार्यको खुलेर प्रशंसा गरेका छन्। टोलमा सामाजिक सद्भाव, पारस्परिक आत्मीयता र जेष्ठ नागरिकप्रति सम्मानको भावना विस्तार गर्न यस्ता गतिविधिले ठूलो भूमिका खेल्ने विश्वास गरेका छन्।
सामाजिक अभियन्ता नेत्र चौलागाईंले यस अभियानमार्फत जेष्ठ नागरिकप्रति सम्मानजनक जीवन सुनिश्चित गर्ने, उनीहरूका आवश्यकताप्रति ध्यान दिने र समाजमा सकारात्मक सोच विकास गर्न उल्लेखनीय योगदान पुर्याउने बताउनु भयो । टोल विकासले आगामी दिनमा आयोजना गर्ने सामाजिक काममा आफू पनि सहकार्य गर्न तयार रहेको चौलागाइँले जनाउनु भयो ।
प्रतिक्रिया दिनुहोस्