प्रधानमन्त्री केपी शर्मा ओलीले देशका विभिन्न भागमा अविरल वर्षा, बाढी र पहिरोले निम्त्याएको मौसमजन्य विपद्प्रति गम्भीर चासो व्यक्त गर्दै सरकार उद्धार, राहत र प्रतिकार्यका लागि ‘हाई अलर्ट’मा रहेको बताएका छन् । नागरिकको जीउधनको सुरक्षाका लागि सरकारले सबै संयन्त्र परिचालन गरेको उनले स्पष्ट पारेका हुन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले विपद् व्यवस्थापनमा संलग्न निकायहरूलाई उच्च सतर्कतामा राखिएको जानकारी दिए । ‘मौसमजन्य विपद्को उद्धारका लागि सरकारले विपद् व्यवस्थापन विभागलाई ‘हाई एलर्ट’मा राखेको छ,’ उनले भनेका छन्, ‘सशस्त्र प्रहरी बल, नेपाली सेना र नेपाल प्रहरीका स्वयंसेवकहरू आवश्यक साधन र उद्धार उपकरणसहित तैनाथ छन् र आफ्नो काम गरिरहेका छन् ।’
प्रधानमन्त्री ओलीले विपद्को जोखिममा रहेका क्षेत्रहरूमा खटिएका सुरक्षाकर्मीहरूसँग समन्वय गरी सूचना आदानप्रदान गर्न आम नागरिकलाई अपिल गरेका छन् । ‘विपद् सम्भावित क्षेत्रमा खटिएका सुरक्षा निकायको सम्पर्क नम्बरहरू सार्वजनिक गरिएको छ । सूचना समन्वयका लागि सबैलाई अनुरोध गर्दछु,’ उनले भनेका छन् ।
प्रतिक्रिया दिनुहोस्