काठमाडौँ, । खानेपानीमन्त्री प्रदीप यादवले विगत केही दिन यतादेखि पर्सा, बारासहित मधेसका जिल्लामा चापाकल सुकेर खानेपानीको सङ्कट बढेकाले उक्त समस्या समाधानका लागि सबैले आ–आफ्नो तर्फबाट सहयोग र समन्वय गर्न आग्रह गर्नुभएको छ ।
“यस प्राकृतिक विपत्तिमा पीडित नागरिकसँग सहानुभूति राख्दै म वीरगञ्जका विभिन्न प्रभावित क्षेत्रहरूको स्थलगत अनुगमन गरिरहेको छु”, उहाँले भन्नुभयो, “खानेपानी समस्याको तत्कालीन समाधानका लागि बारा, पर्सालगायत जिल्लासहित वीरगञ्ज महानगरपालिकाका विभिन्न वडामा हालसम्म दुई सय ३७ भन्दा बढीको सङ्ख्यामा डिपबोरिङ गाडिसकिएको छ । समस्या समाधानका लागि थप पहल भइरहेका छन् ।”
यादवले आगामी आर्थिक वर्षको सुरुआतसँगै यसकार्यलाई अझ द्रुतगतिमा अगाडि बढाइने बताउँदै यसले खानेपानीका लागि शीघ्र राहत दिने विश्वास लिएको बताउनुभयो । खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि एसियाली विकास बैंकको सहयोगमा रु चार अर्ब ५० करोड लागतमा वीरगञ्जमा बृहत् खानेपानी आयोजना अघि बढिरहेको उहाँको भनाइ छ ।
“यो कठिन परिस्थितिमा धैर्यता र संयमता अपनाउन सबैलाई आग्रह गर्दछु । सबैको सहयोग र समन्वयले समस्या समाधानको विकल्प निकाल्न सकिने छ”, उहाँले भन्नुभयो । प्रदेश र स्थानीय सरकार, खानेपानी र सरसफाइ क्षेत्रमा संलग्न सबै राष्ट्रिय तथा अन्तरराष्ट्रिय निकायलाई सहकार्य र सहयोगका लागि उहाँले आग्रह गर्नुभयो । रासस