नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणले पार्टीको आगामी महाधिवेशनमा गुटभन्दा माथि उठेर नेतृत्व चयन गर्नुपर्ने बताएका छन् ।
मंगलबार विराटनगरमा कोइराला निवासमा पत्रकारहरूसँग कुरा गर्दै उनले अबको नेतृत्वले देश र जनताका लागि के–के गर्न सकिन्छ भन्ने स्पष्ट खाकासहित आउनुपर्ने बताए ।
नेता खाँणले कोइराला निवासलाई कांग्रेसजनका लागि ‘पवित्र भूमि’को संज्ञा दिँदै यसलाई कुनै गुटको केन्द्रको रूपमा हेर्न नहुने बताए । शेखर कोइरालाको निवासमा आफ्नो उपस्थितिलाई अर्थपूर्ण रूपमा हेरिएको विषयमा खाँणले भने, ‘कोइराला निवास हाम्रो लागि पवित्र भूमि हो, कुनै धार्मिक स्थलजस्तै हो । यसलाई पार्टीको गुटको हिसाबले हेर्नै भएन ।’
कृष्णप्रसाद कोइरालादेखि बीपी कोइराला र गिरिजाप्रसाद कोइरालासम्मको योगदानको स्मरण गर्दै यो निवास आम कांग्रेस कार्यकर्ताका लागि प्रेरणाको स्रोत भएको उनले बताए । उनले भने, ‘यहाँ आएर कोइरालाको भूमिलाई स्पर्श गर्दा सत्प्रयासमार्फत् अगाडि बढ्न थप ऊर्जा मिल्छ ।’
खाँणले गुट परिवर्तनको चर्चा चलिरहँदा गुट परिवर्तन नगरेको संकेत गरे । पार्टी संस्थापनसँग तपाई अलि टाढिएजस्तो हल्ला चलिरहेको छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले आफू सभापति देउवालाई नै सफल बनाउन लागेको बताए । ‘यसपटक कांग्रेसको गुटभन्दा माथि उठेर कांग्रेसका नेताहरूको चयन गर्नुपर्दछ,’ उनले भने ।
अबको नेतृत्वले ५ वर्षभित्र देशका लागि गर्न सक्ने कामका योजना र जनताको अपेक्षा पूरा गर्ने दृढता व्यक्त गर्न सक्नुपर्ने उनको भनाइ छ । रुपन्देहीबाट उम्मेदवार बन्ने चर्चाबारे सोधिएको प्रश्नमा उनले व्यङ्ग्यात्मक शैलीमा भने, ‘म अहिले मोरङमा छु ।’
एमालेसँगको गठबन्धन सरकारबारे बोल्दै नेता खाँणले अहिलेको संसदीय संरचनामा कुनै पनि दलको एकल सरकार बन्न नसक्ने यथार्थ स्वीकार्नुपर्ने बताए । उनले कांग्रेस र एमालेबीच विगतमा पनि पटक–पटक सहमतिको सरकार बनेको स्मरण गराए ।
प्रतिक्रिया दिनुहोस्