काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष वेदुराम भुसालले पुष्पलाल श्रेष्ठलाई नेपालको कम्युनिष्ट आन्दोलनका जनक र मार्क्सवादका प्रवर्तकको रूपमा स्मरण गरेका छन।
बुधवार कीर्तिपुरमा आयोजित ४७ औं पुष्पलाल स्मृति दिवसको कार्यक्रममा बोल्दै भुसालले पुष्पलालको योगदान अतुलनीय रहेको बताए। “कमरेड पुष्पलाल नै नेपाली कम्युनिष्ट आन्दोलनका पिता हुनुहुन्छ । उहाँले नेपालमा मार्क्सवाद प्रवेश गराउनुभयो, नेपाली भाषामा माक्र्सवादी विचारहरूको व्याख्या गर्नुभयो,” उनले भने ।
उनले पुष्पलालले नेपालमा मार्क्सवादी साहित्यको सिर्जना प्रारम्भ गर्नुका साथै समाजवादमा मुलुकलाई डोहोर्याउने अभियानको थालनी गरेको उल्लेख गरे ।
भुसालले पुष्पलालको दृष्टिकोण आज पनि समसामयिक रहेको भन्दै उनले थालेका धेरै काम अझै अधुरा रहेको धारणा व्यक्त गरे । “समाजवादमा मुलुकलाई पुर्याउने सपना र नेपाली समाजको इतिहासलाई नयाँ ढंगले लेख्नुपर्ने लक्ष्य अझै पूरा हुन सकेको छैन,” भुसालले भने ।
प्रतिक्रिया दिनुहोस्