Ads

कार्यवाहक अध्यक्ष तोकिएको पत्रप्रति महासचिव थापाकाे आपत्ति, भदौभित्र सम्मेलन सक्न निर्देशन


काठमाडौं । अनेरास्ववियू (क्रान्तिकारी)का महासचिव रोशन थापाले एक सार्वजनिक विज्ञप्ति जारी गर्दै उपत्यका विशेष प्रदेशमा कार्यवाहक अध्यक्ष तोकिएको पत्रप्रति संगठनको गम्भीर आपत्ति जनाएका छन्। उक्त पत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको थियो।

महासचिव थापाले सो पत्रलाई पूर्ण रूपमा अवैधानिक र संगठनको विधि–विधानविपरीत भएको स्पष्ट पार्दै यस्ता अराजक गतिविधिमा संलग्न नहुन सबै जिम्मेवार साथीहरूलाई आग्रह गरेका छन्। उनले भनेका छन्, “संगठनको नीति, नियम र अनुशासन बाहिर गएर गरिएको कुनै पनि गतिविधिमा संलग्न व्यक्तिलाई संगठनको अनुशासनको दायरामा ल्याइनेछ।”

विज्ञप्तिमा हाल अनेरास्ववियू (क्रान्तिकारी)ले “विद्यार्थीसँग अखिल (क्रान्तिकारी) अभियान” सञ्चालन गरिरहेको उल्लेख गरिएको छ। यो अभियान अन्तर्गत सदस्यता विस्तार, रचनात्मक कार्यक्रमहरू तथा आवश्यक परे संघर्षका कार्यक्रमहरू समेत जारी छन्।

२३औं राष्ट्रिय सम्मेलनपश्चात बसेको पहिलो पूर्ण बैठकको निर्णयअनुसार, देशभरका इकाइ, पालिका, जिल्ला, विश्वविद्यालय तथा प्रदेशस्तरीय समिति सम्मेलनहरू भदौ महिनाभित्र अनिवार्यरूपमा सम्पन्न गर्नुपर्ने निर्णय गरिएको थियो। सोही निर्णयअनुरूप केही समिति सम्मेलनहरू सम्पन्न भइसकेका छन् भने बाँकीहरू तयारी अवस्थामा छन्।

विशेषतः उपत्यका विशेष प्रदेश, विश्वविद्यालय प्रदेश र मधेश प्रदेशका सम्मेलनहरू अझै बाँकी रहेका कारण ती सम्मेलनहरू भदौ महिनाभित्र केन्द्रीय समितिको रहोबरमा, अभियान कमाण्ड र सम्बन्धित प्रदेश इन्चार्जहरूको समन्वयमा सम्पन्न गर्ने निर्णय भएको महासचिव थापाले स्पष्ट पारेका छन्।

विज्ञप्तिमा महासचिव थापाले सम्पूर्ण संगठन सदस्यहरूलाई हाल सञ्चालनमा रहेको अभियानमा एकजुट भई क्रियाशील रूपमा सहभागी हुन, संगठनले दिएको जिम्मेवारी इमानदारीका साथ पूरा गर्न तथा संगठनको अनुशासन र निर्णयप्रणालीको पूर्ण पालना गर्न अपील गरेका छन्।

Ads

सम्बन्धित पोष्टहरू