Ads

उपल्लो डोल्पाको मोरिम्ला नाका २० दिनका लागि खुला गरिने


उपल्लो डोल्पामा व्यापार गर्न यही साउन २५ गते नेपाल र चीनबीचको मोरिम्ला नाका खुला गरिने भएको छ।

चीनको सिगात्से काउन्टीअन्तर्गत डोङ्बा प्रान्तका अधिकारीहरूसँग छलफल भई यही साउन २५ देखि भदौ १३ गतेसम्म सीमा क्षेत्र खोल्ने निर्णय भएको शे–फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष पेम्मा वाङछेन गुरुङले जानकारी दिए। उपल्लो डोल्पाको तीन पालिकाका लागि मोरिम्ला नाका प्रत्येक वर्ष एक पटक खोलिँदै आएको छ।

यस वर्ष सीमा पार गरेर व्यापार गर्न दुई हजार २०० जनाले सीमा प्रवेश ‘पास’ लिएको सहायक प्रमुख जिल्ला अधिकारी दामोदर ज्ञवालीले जानकारी दिए। पालिकाको मागअनुसार यस अवधिमा सशस्त्र प्रहरी र नेपाल प्रहरी सीमानाकासम्म परिचालन गरिने भएको छ। अघिल्लो वर्ष १५ दिनका लागि खुला गरिएको थियो।

विगतदेखि खुल्दै आएको मोरिम्ला नाकाबाट उपल्लो डोल्पावासीले दैनिक उपभोग्य सामग्री, लत्ताकपडा, विभिन्न मेसिनरी सामग्री खरिद गर्ने गर्छन्। उपल्लो डोल्पा भौगोलिक रूपमा विकट भएकाले नेपाली सामान खरिद गर्दा ढुवानी खर्च महँगो पर्ने भएकाले एक वर्ष पुग्ने गरी सस्तो मूल्यमा चिनियाँ सामग्री खरिद गर्दै आएका छन्।

Ads

सम्बन्धित पोष्टहरू