Ads

माओवादी केन्द्रमा रूपान्तरणको हुंकार : आलोचना र आत्मसमीक्षाको संस्कृति माग


काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री सुदन किरातीले हालै पार्टीको केन्द्रीय समितिको निर्णयको ‘स्प्रीट’ (मर्म) अनुसार पार्टीभित्र सुद्धीकरण, सुदृढीकरण र रूपान्तरणको अभियानलाई तीव्र रुपमा अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा पार्टी सुधारका लागि चारवटा मुख्य सर्त अघि सारेका छन्।

किरातीले लेखेका चार सर्तहरू यसप्रकार छन्:

  • पार्टीलाई बलियो बनाउन सुद्धीकरण, सुदृढीकरण र रूपान्तरणको अभियानलाई तीव्र बनाउने,
  •  शहीदहरूको सपना पूरा गर्न लोभ र लालचको कुनै पनि स्वरूप त्याग्न तयार हुने,
  •  प्रश्न उठाउनेहरूलाई पार्टी विभाजनको दोष लगाउने प्रवृत्तिविरुद्ध वैचारिक प्रतिवाद गर्ने,
  •  नेतृत्वको विचार र योगदानको संरक्षणको नाममा चाकडी र चाप्लुसीलाई निषेध गर्ने।

उनको यो टिप्पणीले पार्टीभित्र आलोचना र आत्मसमीक्षाको संस्कृतिलाई प्राथमिकता दिनुपर्ने संकेत गरेको छ। साथै, उनले नेतृत्वको संरक्षणको नाममा व्यक्तिपूजाजन्य प्रवृत्तिहरूविरुद्ध पनि स्पष्ट मत व्यक्त गरेका छन्।

पछिल्लो समय माओवादी केन्द्रभित्र नेतृत्वप्रति असन्तुष्टि, संगठनको दिशाबारे प्रश्न र आन्तरिक सुधारका आवाजहरू बढिरहेका सन्दर्भमा किरातीको यो धारणा विशेष महत्वका साथ हेरिएको छ। पार्टीभित्र वैचारिक बहस र आत्मसमीक्षालाई स्वीकार गर्ने तथा चाप्लुसीमूलक प्रवृत्तिबाट टाढा रहने सन्देश दिन खोजिएको देखिन्छ।

पार्टी सुधारका सवालमा किरातीको यो सार्वजनिक अभिव्यक्तिले आन्तरिक छलफलमा नयाँ उचाइ थप्ने अनुमान गरिएको छ।

Ads

सम्बन्धित पोष्टहरू