काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानको स्तरोन्नति कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ।
प्यारापिट निर्माण र फ्लड लाइट जडानको काम धमाधम भइरहेको भए पनि निर्धारित समयसीमा नाघेपछि सरकारद्वारा ठेकेदार कम्पनीलाई हर्जाना लगाइएको छ।
सहरी विकास मन्त्रालयका अनुसार, समयमै काम सम्पन्न गर्न नसकेपछि निर्माण कम्पनीलाई दैनिक दुई लाख रुपैयाँभन्दा बढी जरिवाना तिर्नुपर्ने व्यवस्था गरिएको छ। मन्त्रालयले निर्माण कम्पनीलाई यही असार ३० गतेसम्म काम सम्पन्न गर्न ताकेता गरेको थियो।
प्यारापिट निर्माणका लागि बिकेओआई केसिडिसी बिजीको जोइन्ट भेन्चर (जेभी) र फ्लड लाइट जडानका लागि विशन–ईश्वरी जेभी कम्पनीसँग सम्झौता गरिएको हो। प्यारापिट निर्माणको ठेक्का ४९ करोड २५ लाख रुपैयाँमा र फ्लड लाइट जडानको ठेक्का ४७ करोड ३७ लाख रुपैयाँमा गत फागुन १९ र २२ गते संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयसँग सम्झौता भएको थियो।
हाल मैदानमा कुर्सी जडानको काम भइरहेको छ भने फ्लड लाइट जडान पनि सम्पन्न भइसकेको मन्त्रालयले जनाएको छ। निर्माण कम्पनीले साउन महिनाभित्र सबै कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। काम छिटो सम्पन्न गर्न मन्त्रालयले निरन्तर अनुगमन र दबाब दिइरहेको छ।
तस्बिरहरू : क्यान।


-1753589167.jpg)












प्रतिक्रिया दिनुहोस्