Ads

साउनको दोस्रो सोमबार: देवघाटमा शिवभक्तको लहर, आस्थाले भरिएको संगमस्थल


साउन महिनाको दोस्रो सोमबारको अवसरमा आज बिहानैदेखि चितवन, तनहुँ र नवलपरासी जिल्लाको सङ्गमस्थल देवघाटधाममा हजारौं भक्तजनको अपार घुइँचो लागेको छ। गण्डकी, त्रिशूली र कालिगण्डकी नदीको संगमस्थलमा स्नान, पूजा तथा शिवमन्दिरमा जल अर्पण गर्ने श्रद्धालुहरूको भीडले देवघाट क्षेत्र पूजापाठमय बनेको छ।

साउन महिनाको सोमबार विशेषरूपमा भगवान् शिवको आराधना गर्ने पवित्र दिन मानिन्छ। यसै सन्दर्भमा देशका विभिन्न भागबाट आएका श्रद्धालुहरू बिहानैदेखि नदीमा स्नान, व्रत बस्न तथा शिवमन्दिरमा पूजा-अर्चनामा व्यस्त देखिएका छन्। देवघाटमा साउन सोमबारका अवसरमा ‘बोलबम मेला’ लाग्ने परम्पराअनुसार आजको दिन धार्मिक उत्सवका रूपमा भव्य रूपमा मनाइएको छ।

देवघाट क्षेत्र विकास समिति कार्यालयका सूचना अधिकारी पुष्पराज पौडेलका अनुसार, साउन महिनाभरि आउने भक्तजनको सङ्ख्या मोटामोटी रूपमा तथ्याङ्क सङ्कलनमार्फत लिइँदै आएको छ। “चितवन र तनहुँ दुवैतर्फ कर्मचारी परिचालन गरेर भक्तजनको आगमन विवरण लिइन्छ। बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म तथ्याङ्क संकलनको व्यवस्था छ,” पौडेलले बताउनुभयो।

समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार, यो वर्ष देवघाटधाममा दुई लाखभन्दा बढी भक्तजन आउने अनुमान गरिएको छ। उहाँले भन्नुभयो, “आज बिहानैदेखि वर्षा भइरहे पनि भक्तजनको उपस्थिति उल्लेख्य छ। गत वर्ष बाढीपहिरोबीच पनि झन्डै दुई लाख भक्तजन आएका थिए, यसपालि त्योभन्दा धेरै आउने अपेक्षा गरेका छौँ।”

भक्तजनको सुरक्षाका लागि स्थानीय प्रशासन र क्षेत्र विकास समितिको समन्वयमा विशेष तयारी गरिएको छ। ट्राफिक व्यवस्थापन, स्वास्थ्य सहायता र सुरक्षा व्यवस्थापनका लागि प्रहरी, स्वयंसेवक र प्राथमिक स्वास्थ्य टोली खटाइएको कार्यकारी निर्देशक बरालले जानकारी दिनुभयो।

भक्तजनको बाक्लो उपस्थिति सँगै देवघाट क्षेत्रमा स्थानीय व्यवसायमा समेत चहलपहल बढेको देखिन्छ। चितवन र तनहुँतर्फका दुवै किनारामा फूलमाला, पूजा सामग्री, फलफूल तथा खाजाका पसलमा भीड देखिएको छ। धार्मिक आस्थासँगै स्थानीय आर्थिक गतिविधि पनि फस्टाएको छ।

Ads

सम्बन्धित पोष्टहरू