काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) का उपाध्यक्ष सन्दिप पुनले पार्टीभित्र देखापरेको पछिल्लो अन्तरविरोधप्रति सामाजिक सञ्जालमार्फत स्पष्ट धारणा सार्वजनिक गरेका छन्।
पुनले सामाजिक सञ्जालमा लेख्दै ‘विरोध र आलोचना’लाई लोकतन्त्रमा नागरिकको सशक्त हतियारको रूपमा चित्रण गरेका छन्। उनका अनुसार, विरोध कुनै नकारात्मक क्रिया नभई असहमति, गुनासो वा मागहरू सार्वजनिक रूपमा व्यक्त गर्ने एक सशक्त माध्यम हो, जसले लोकतान्त्रिक अभ्यासलाई जीवन्त बनाउँछ।
“विरोध लोकतान्त्रिक प्रक्रियाको मूल आत्मा हो, जसले सरकार, नीति वा संस्थागत निर्णयहरूप्रति मतभेद जनाउने अधिकार सुनिश्चित गर्छ,” उनले लेखेका छन्।
त्यस्तै, आलोचनालाई सुधारको आधारशिला भन्दै उनले त्यसको तीनवटा प्रमुख आयामहरू — विश्लेषण, मूल्यांकन र तदनुसारको प्रतिक्रिया — को महत्त्वपूर्ण चर्चा गरेका छन्। पुनका अनुसार, आलोचना कुनै व्यक्ति वा संस्थामाथि आरोप मात्र होइन, तथ्यमा आधारित विश्लेषण र मूल्यांकनका माध्यमबाट सुधारको मार्गप्रशस्त गर्ने प्रक्रियासमेत हो।
उनले भनेका छन्, “नकारात्मक टिप्पणीभन्दा तथ्यमा आधारित विश्लेषण र मूल्यांकनले मात्र पार्टीलाई बलियो र उत्तरदायी बनाउँछ। आलोचना भनेको नकारात्मकता होइन, सुधारको मार्गदर्शन हो।”
व्यक्तिगत आक्षेपभन्दा माथि उठ्दै सार्वजनिक र वैचारिक हैसियतबाट व्यक्त गरिएको पुनको धारणा पार्टीभित्र विचार र बहसको संस्कारलाई संस्थागत गर्ने दिशातर्फ सकारात्मक संकेतका रूपमा हेरिएको छ।
प्रतिक्रिया दिनुहोस्