Ads

“फेरि एकपटक विद्रोह आवश्यक छ, म तयारीमै छु”: प्रचण्ड


नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा फेरि नयाँ विद्रोह आवश्यक रहेको भन्दै त्यसका लागि आफू तयारीमा रहेको घोषणा गरेका छन्।

दोलखाको बोत्ले हत्याकाण्ड स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले जनयुद्धदेखि हालसम्मको राजनीतिक यात्रामा आफू नेतृत्वदायी भूमिकामा रहेको स्मरण गर्दै अब नयाँ परिस्थितिमा पुनः विद्रोह अपरिहार्य भएको बताए।

उनले भने, “एकचोटि फेरि क्रान्ति आवश्यक छ। प्रतिक्रियावादी शक्तिलाई परास्त गर्न नयाँ विद्रोह आवश्यक छ। मेरो प्रतिबद्धता पनि यही हो र तयारी पनि त्यहीअनुसार भइरहेको छ।”

उनले थपे, “हामी चाँडै मध्यपहाडी यात्रा सुरु गर्छौं। शहीद परिवारका घरमा पुगिरहेका छौं, उनीहरूको दुःख-सुख बुझिरहेका छौं र हाम्रो वर्गसँग पुनः जोडिँदैछौं।”

अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीका हैसियतमा जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रूपमा घोषणा गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको स्मरण गर्दै त्यसलाई अदालतबाट रोक लगाइएकोप्रति असन्तोष पनि व्यक्त गरे।

२०५९ साल साउन १८ गते दोलखाको साबिक काटाकुटी गाविस वडा नं. १ स्थित बोत्लेमा सुरक्षाफौजको कारबाहीमा परी १५ जना माओवादी कार्यकर्ताको ज्यान गएको घटनालाई माओवादी केन्द्रले ‘बोत्ले हत्याकाण्ड’को रूपमा स्मरण गर्दै आएको छ।

पूर्वमन्त्री विशाल खड्काले यो दिन पार्टीको स्मृतिमा अत्यन्त संवेदनशील र प्रेरणादायी रहेको उल्लेख गरे ।

Ads

सम्बन्धित पोष्टहरू