केही वर्षअघिसम्म गोठाला र वस्तुभाउ मात्र देखिने ढोरपाटनको बुकीपाटनमा अहिले पर्यटकको भीड बढ्न थालेको छ। वनफूलले ढकमक्क हुने यो लेक अब प्लास्टिक र सिसाले भरिँदै गएको छ। पर्यटकको लापरवाहीका कारण पाटन कुरुप बन्दै जान थालेको स्थानीयवासीको गुनासो छ।
ढोरपाटन नगरपालिका–९ पाखाथरबाट सुरु हुने पदमार्ग हुँदै बुकीपाटन पुग्ने बाटोभरि प्लास्टिकका खोल, सिसाका बोतल, चाउचाउ–बिस्कुटका र्यापर र अन्य फोहोर छरपस्ट देखिन थालेको छ।
हाल पर्यटन तथा उद्योग कार्यालय बागलुङ र ढोरपाटन सिकार आरक्षले पदमार्गका विभिन्न ठाउँमा फोहर फाल्ने खाल्डो निर्माण गरे पनि त्यसको प्रयोग न्यून देखिन्छ। सिरेटोले उडाएर फोहर टाढाटाढा पुर्याउने हुँदा समस्या अझ जटिल भएको छ।
स्थानीय गोठाला लोकबहादुर विश्वकर्माले प्लास्टिकजन्य फोहोरका कारण पशुचौपाय बिरामी पर्ने र मर्ने घटनासमेत देखिन थालेको बताए।“अब त पाटनमा कागज र प्लास्टिककै भर होला”, उनले भने, “केही दिनअघि तीनवटा भेडा मरे। गोबरमा बिस्कुटको प्लास्टिक फेला पर्यो।”
पहिलाको तुलनामा अहिले गोठालाभन्दा पर्यटक बढी प्लास्टिक बोकेर आउने र त्यसैलाई जंगल र पाटनमा फालेर फर्किने गरेका छन्।
उपत्यकाबाट बुकीपाटन जाने पर्यटकका लागि कुनै मापदण्ड बनाइएको छैन। होटलबाट वियर, रम लगायतका पेयपदार्थ बोकेर जाने र त्यसको खाली बोतल तथा सिसा यत्रतत्र फ्याँक्ने प्रवृत्तिका कारण समस्या झन् गम्भीर बनेको छ।
ढोरपाटन उपत्यकाका होटल व्यवसायी धिरेन्द्र घर्तीमगर भन्छन्, “सिकार आरक्ष वा नगरपालिकाले बुकीपाटन जानेलाई नियमन गर्ने स्पष्ट मापदण्ड बनाउनुपर्ने देखिन्छ। यत्तिकै फोहोर बढ्दै गयो भने त्यो फुल, घाँस, जीवजन्तु सबैलाई असर गर्छ।”
काठमाडौंबाट घुम्न आएका पर्यटक नितेश राजभण्डारीले बुकीपाटनको प्राकृतिक सौन्दर्य अत्यन्त आकर्षक भए पनि फोहोर व्यवस्थापन नगरेमा यसको सौन्दर्य नष्ट हुने चेतावनी दिए।
“गर्पाछेडा र फुर्से देउराली आसपास धेरै प्लास्टिक फेला पर्यो। पर्यटक आफैं सचेत हुनुपर्छ,” उनले भने।
ढोरपाटन सिकार आरक्षका सूचना अधिकारी पशुपति अधिकारीले समय–समयमा फोहर व्यवस्थापनका लागि कर्मचारी खटाए पनि पर्यटकको लापरवाहीकै कारण समस्याको समाधान हुन नसकेको बताए।
“उपत्यकामा सरसफाइ अभियान चलाएका छौं, तर बुकीपाटन पुग्न सकिएको छैन,” अधिकारीले भने। पर्यटकीय विस्तारसँगै प्राकृतिक क्षेत्रहरूमा फोहोरको संकट गहिरिँदै गएका छन्। बुकीपाटन जस्तो संवेदनशील पाटन क्षेत्रमा समयमै ठोस नीति, जनचेतना र प्रभावकारी व्यवस्थापन नगरे पर्यावरणीय क्षति अपूरणीय बन्न सक्छ।
प्रतिक्रिया दिनुहोस्