Ads

आन्तरिक पर्यटनको नयाँ गन्तव्य: जुम्लाको धिमीचौरमा पर्यटकको आकर्षण बढ्दो


जुम्लाको चन्दननाथ नगरपालिका–४ मा अवस्थित धिमीचौर पछिल्ला दिनमा आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा तीव्र गतिमा विकास हुँदै गएको छ। रमणीय प्राकृतिक दृश्य, हरियाली पाटन र सुगन्धित फुलबारीहरूले सुसज्जित धिमीचौर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक केन्द्रबिन्दु बन्दै गएको छ।

स्थानीयवासीका अनुसार यहाँको प्राकृतिक सुन्दरतासँग रमाउन, फाँटभरि फुलेका फुलहरूको सुगन्धमा डुब्न र मनोरम दृश्यावलोकन गर्न आउने पर्यटकको चाप दिनानुदिन बढिरहेको छ। चन्दननाथ नगरपालिकाका प्रमुख सुरेन्द्रबहादुर महतका अनुसार, नगरपालिकाले धिमीचौरलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न प्रचारप्रसार, पूर्वाधार विस्तार र पर्यटकीय गतिविधिमा प्राथमिकता दिँदै आएको छ।

सदरमुकाम खलङ्गाबाट करिब एक घण्टाको पैदल दूरीमा पर्ने यो ठाउँमा अहिले उल्लेखनीय रूपमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ। सडक विस्तारको काम भइसकेको छ र थप स्तरोन्नतिको योजना पनि बनाइएको छ,’ प्रमुख महतले बताए।

विशेषगरी साउन र भदौ महिनामा धिमीचौरमा शुक्रबार, शनिबार तथा सार्वजनिक बिदाका दिन आन्तरिक पर्यटकको भिड लाग्ने गरेको स्थानीय हिम्मत बुढ्थापाले जानकारी दिए। घना जङ्गलको बीचमा फैलिएको विशाल फाँट, प्राकृतिक शान्तता र हरियालीले पर्यटकलाई लोभ्याउने गर्छ।

तर, पर्यटकको चापसँगै बढ्दो फोहोर व्यवस्थापन चुनौतीका रूपमा देखिन थालेको छ। पर्यटकहरूद्वारा फालिएका प्लास्टिक, बोतल, सिसा आदि फाँटमा देखिन थालेपछि स्थानीय लक्ष्मी खत्रीले फोहर व्यवस्थापनका लागि ठाउँ–ठाउँमा डस्टबिन वा खाडलको व्यवस्था आवश्यक रहेको धारणा राखिन्।

धिमीचौर विगतमा गाईगोठका रूपमा प्रयोग गरिन्थ्यो तर अहिले आन्तरिक पर्यटनको मुख्य गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। यदि पूर्वाधार विकाससँगै वातावरणमैत्री व्यवस्थापनमा पनि ध्यान दिइयो भने यसले स्थानीयको आम्दानी वृद्धि र जीवनस्तर उकास्न थप टेवा पुग्नेछ,’ उनले बताइन्।

धिमीचौरको पर्यटन सम्भावनाले जुम्लामा हरित अर्थतन्त्र, युवा रोजगारी र स्थानीय स्तरको समृद्धिमा योगदान दिने अपेक्षा गरिएको छ। स्थानीय तह, पर्यटक र सरोकारवालाबीच सहकार्य भयो भने धिमीचौर अझ प्रख्यात गन्तव्य बन्नेमा दुईमत छैन।

Ads

सम्बन्धित पोष्टहरू