नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज (सोमबार) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफसहित समापन हुने भएको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे सुरु हुने बैठकमा अध्यक्ष प्रचण्डले अघिल्ला दिनहरूमा उठाइएका प्रश्नहरूमा औपचारिक जवाफ दिनेछन्।
यसअघि महासचिव देवप्रसाद गुरुङ र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो धारणा राख्ने कार्यसूची छ।
शुक्रबारदेखि जारी बैठकमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिव बाहेकका स्थायी समिति सदस्यहरूले धारणा राखिसकेका छन्। दस्तावेजमा उठाइएका विषयहरूमा नेताहरूले फरक-फरक दृष्टिकोण प्रस्तुत गरे पनि अधिकांशले प्रचण्डको दस्तावेजप्रति समर्थन जनाएका छन्।
तर, विशेष महाधिवेशनको प्रस्ताव अघि सारेका उपमहासचिव जनार्दन शर्मामाथि भने केही नेताहरूले आलोचना गरेका छन्। उनीहरूलाई बैठकमा धारणा राख्ने नेताहरूले आत्मालोचना गर्न सुझावसमेत दिएका छन्।
प्रचण्डको जवाफपछि बैठक औपचारिक रूपमा समापन गरिने माओवादी केन्द्रले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्