संघीय निजामति सेवा विधेयकमा भएको विवादास्पद चलखेलबारे अनुसन्धान गर्न गठित संसदीय विशेष छानबिन समितिले सभामुख देवराज घिमिरेलाई छानबिन प्रतिवेदन बुझाएको छ।
विशेष समितिले मंगलबार दिउँसो संसद भवनमा सभामुख घिमिरेलाई आधिकारिक रूपमा प्रतिवेदन हस्तान्तरण गरेको हो।
२३ असारमा गठित समितिले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट विधेयक पारित हुने क्रममा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी अनौपचारिक हस्तक्षेप र संशोधनको आरोपपछि उक्त प्रकरणको विस्तृत अध्ययन गर्दै आएको थियो।
समितिले २९ दिनको अनुसन्धानपछि प्रतिवेदन तयार गरेको हो। यस अवधिमा समितिले विधेयक निर्माण र संशोधन प्रक्रिया, संलग्न पक्षहरूसँगको परामर्श र कागजातको अध्ययन गरी निष्कर्ष तयार पारेको बताइएको छ।
प्रतिवेदनमा सो प्रावधानमा हस्तक्षेप गर्ने प्रत्यक्ष तथा परोक्ष रूपमा संलग्न व्यक्तिहरूलाई जवाफदेही बनाउने प्रस्ताव समावेश गरिएको स्रोतहरूले जनाएका छन्।
अब यो प्रतिवेदनलाई प्रतिनिधिसभाको आगामी बैठकमा छलफलका लागि टेबुल गरिने सम्भावना छ। सो छलफलपछि विधेयकको वर्तमान अवस्था र त्यसमा हुने सम्भावित संशोधनबारे निर्णय लिने प्रक्रिया अगाडि बढ्नेछ।
प्रतिक्रिया दिनुहोस्