Ads

बुकीपाटन प्रवेशद्वारमा ‘गोठस्टे’: हिमाली सौन्दर्यसँगै ग्रामीण आतिथ्य


समुन्द्री सतहदेखि झण्डै ४ हजार मिटरको उचाइमा अवस्थित गर्पाछेडा अब केवल पदयात्राको विश्राम बिन्दु मात्र रहेन, यो बुकीपाटन प्रवेशद्वारसँगै पर्यटकीय आतिथ्यको नयाँ अनुहार बनेको छ।

ढोरपाटन उपत्यकाबाट करिब साढे चार घण्टाको कठिन पैदलयात्रा पार गरेपछि पुगिने गर्पाछेडामा अहिले ‘गोठस्टे’ नामक पर्यटक विश्रामस्थल सञ्चालनमा आएका छन्। जङ्घार, भीर र डाँडाकाँडाबीचको यात्राबाट थकित पर्यटकलाई अहिले गर्पाछेडाले विश्राम र आतिथ्यको सान्त्वना दिइरहेको छ।

अघिल्लो वर्षसम्म यहाँ विश्रामका लागि भेडीगोठ बाहेक अन्य संरचना थिएन। पर्यटकले गोठालासँगै भेडीगोठमा रात बिताउने, चिसो सहने र कहिलेकाहीँ बिरामीसमेत पर्नुपर्ने बाध्यता थियो। तर, अहिले परिस्थिति बदलिएको छ।

गर्पाछेडामा सन्देश थापा र महेन्द्र घर्ती मगरले सञ्चालनमा ल्याएको गोठस्टेले पर्यटकलाई खाने बस्ने सुविधा मात्र होइन, पहाडी जीवनशैली र स्थानीय स्वादको अनुभवसमेत गराउँदै आएको छ। गोठस्टेमा ढोरपाटनमा उत्पादन हुने आलु, लेकाली साग, आँटो ढिँडो र बुकीपाटनमा पाइने च्याङ्ग्राको मासु जस्ता मौलिक परिकार उपलब्ध छन्।

एक रातको बास, खाना र खाजाको शुल्क रु २५०० राखिएको छ। केही पर्यटक बिहानै बुकीपाटन पुगेर साँझ फर्किन्छन् भने धेरैजसोले गर्पाछेडामै बास बस्ने गरेको बताइन्छ।

गत वर्षको तुलनामा यस वर्ष बुकीपाटनमा पर्यटकको चाप उल्लेख्य रूपमा बढेको गोठस्टे सञ्चालक थापाको भनाइ छ। सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रचारप्रसार हुन थालेपछि बुकीपाटन र गर्पाछेडाको परिचय देश-विदेशसम्म फैलिन थालेको हो।

पर्यटक गन्तव्यका रूपमा बुकीपाटन विशेषगरी बर्खायाममा हरियाली चरनभूमि, हिमशृङ्खला र भेडाका विशाल बथानहरूको दृश्यावलोकनका लागि चर्चित छ। गोठस्टेले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप टेवा पुगेको छ।

गर्पाछेडाबाट फागुने, टीकाधार जस्ता अन्य रमणीय स्थलहरू पुग्न सकिन्छ। पोखरा महानगरपालिका–७ का मुकेश सुब्बा भन्छन्, “चार वर्षअघि बुकीपाटन आउँदा गोठमै बास बस्नु परेको थियो। अहिले गोठस्टेले बसाइँ सहज बनाइदिएको छ।”

स्थानीय स्तरबाट सुरु गरिएको गोठस्टे सेवा अब बिस्तारै हिमाली पर्यटनको नयाँ सम्भावनाको ढोका खोल्दैछ। स्थानीय स्रोत, संस्कृति र सौन्दर्यको संयोजनमार्फत गर्पाछेडा र बुकीपाटन भविष्यमा झनै पर्यटक आकर्षण केन्द्र बन्ने संकेत देखिन थालेको छ।

Ads

सम्बन्धित पोष्टहरू