Ads

सबैभन्दा अग्लो पचाल झरना पर्यटकीय नक्सामा: क्युआर कोडसहित प्रविधि-मैत्री प्रवर्धन


नेपालको सबभन्दा अग्लो दाबी गरिएको कालीकोटको पचाल झरना अब औपचारिक रूपमा पर्यटकीय गन्तव्यमा सूचीकृत भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ का लागि तय गरेका १०० प्रमुख पर्यटकीय गन्तव्यहरूमध्ये पचाल झरना ६४औं स्थानमा पर्न सफल भएको हो।

पचाल झरनाको प्रचारप्रसार र पर्यटकको पहुँचलाई प्रविधिमैत्री बनाउन नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) को सहकार्यमा क्युआर कोड विकास गरिएको छ। सो कोडमार्फत पर्यटकहरूले झरनाको इतिहास, पहुँच मार्ग, होमस्टे, प्रतीक्षालय, स्यासलङसहितका पूर्वाधारबारे जानकारी सहज रूपमा प्राप्त गर्न सक्नेछन्।

पचाल झरना गाउँपालिकाकी उपाध्यक्ष अल्किना बमका अनुसार सूचना प्रविधिमा आधारित क्युआर कोड पर्यटन बोर्डले तयार पारी गाउँपालिकालाई हस्तान्तरण गरिसकेको छ। ‘मैले कोडको फ्रेम बुझेर ल्याइसकेकी छु,’ उनले भनिन्, ‘अब आन्तरिक तथा बाह्य पर्यटकहरूलाई झरनाबारे जानकारी लिन सजिलो हुनेछ।’

प्राविधिक अध्ययन अनुसार, पचाल झरनाको सीधा लम्बाइ ३८१ मिटर रहेको छ भने बीचमा चट्टानमा ठोक्किने भागसमेत जोड्दा कुल लम्बाइ ४१५ मिटर पुग्छ। यसले हालसम्म अग्लो मानिँदै आएको तेह्रथुमको ३६५ मिटर लामो ह्यातुङ झरनालाई समेत उचाइका आधारमा पछि पार्छ।

गाउँपालिकाले झरनासम्म पुग्नको लागि रेलिङसहितको सुरक्षित गोरेटो बाटो निर्माण गरिसकेको छ। झरनाको वरिपरि डाँफे कालिज, घोरल, कस्तुरी, हिमाली कालो भालुजस्ता दुर्लभ वन्यजन्तु तथा चराचुरुंगी पाइने भएकाले जैविक विविधताले पनि यो क्षेत्र समृद्ध छ।

पर्यटकका लागि खार्दु गाउँका पाँच घरमा होमस्टे सेवा सञ्चालनमा छन्। यस्तै, झरनासम्म पुग्न कर्णाली करिडोरको लाफागाडबाट तीन घन्टा पैदल र एक घन्टा गाडीमा यात्रा गर्नुपर्छ।

गाउँपालिकाका अनुसार पचाल झरनासम्मको सडक, पैदल मार्ग, सूचना केन्द्रजस्ता पूर्वाधार विकासमा हालसम्म १२ करोड रुपैयाँ खर्च भइसकेको छ। पालिकाका अध्यक्ष देवजंग शाहीका अनुसार भारतको रुपैडिया र तिब्बतको हिल्सा जोड्ने कर्णाली करिडोर खुलेपछि मानसरोवर जान चाहने पर्यटकलाई आकर्षित गर्न सके कालीकोटका वासिन्दाको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउन सकिनेछ।

उनले थपे, ‘हामी नेपाल पर्यटन बोर्डको सहकार्यमा आवश्यक पूर्वाधार निर्माण गर्दै छौं। व्यवस्थित होटल र पक्की सडक जस्ता पूर्वाधार अझै आवश्यक छन्।’

Ads

सम्बन्धित पोष्टहरू