महिलालाई सीपमा दक्ष बनाउँदै उद्यमशीलता, स्वरोजगार र प्रविधिमैत्री वातावरणतर्फ प्रेरित गर्ने उद्देश्यसहित आयोजना भएको २२औं डाबर तीज फेस्टिवल तथा सृजनशील उद्यमी मेला २०८२ भव्यताका साथ सम्पन्न भएको छ।
सृजनशील केन्द्रको प्रवर्द्धन, रायजिङ नेपाल प्रा.लि.को सहकार्य र इभेन्टसञ्चार डटकमको व्यवस्थापनमा साउन २२ गते बालुवाटारस्थित आम्रपाली ब्याङ्क्वेटमा सुरु भएको मेला आज समापन भएको हो। मेलाको मुख्य प्रायोजक डाबर नेपाल रहेको थियो भने उद्योग मन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका थिए।
मेलामा सहभागी विभिन्न महिला उद्यमीका स्टलमध्ये बुटवलकी उद्यमी अन्जु थापा जिसीद्वारा प्रवर्द्धित ‘अन्जु सेनिटरी प्याड’ विशेष आकर्षण बनेको थियो। कपडाबाट निर्मित यो प्याड एक पटक किनेपछि तीन वर्षसम्म प्रयोग गर्न सकिने, स्वास्थ्यवर्द्धक र वातावरणमैत्री हुने तथा बजारमा पाइने केमिकलयुक्त प्याडभन्दा सस्तो र सजिलो हुने भएकाले धेरैको चासो आकर्षित गरेको थियो।
अन्जुका अनुसार, “सृजनशील उद्यमी मेलाले हामीजस्ता नवप्रवर्धन उद्यमीलाई प्रचार–प्रसार र बजार विस्तारमा ठूलो सहयोग पुर्याएको छ। आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकारले यस्ता उद्यमीलाई थप प्रोत्साहन र सहयोग गर्नुपर्छ।”
छ वर्षअघि सुरु गरिएको यो व्यवसायले स्वास्थ्य, सरसफाइ र वातावरण संरक्षणमा योगदान दिइरहेको अन्जु बताउँछिन्। उनले सम्पूर्ण नेपाली आमा, दिदीबहिनीलाई सस्तो, सुलभ, स्वास्थ्यवर्द्धक र वातावरणमैत्री उत्पादन अपनाउन आह्वान गरिन्।

प्रतिक्रिया दिनुहोस्