काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हार नखाई निरन्तर प्रयास गर्ने जो कोही अन्ततः सफलतामा पुग्ने विश्वास व्यक्त गरेका छन्। सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले युवाहरूप्रति विशेष सन्देश दिँदै आफ्नो रुचि र प्रतिभा पहिचान गरी नडराई सङ्घर्ष गर्न आग्रह गरे।
प्रधानमन्त्री ओलीले दुनियाँका धेरै महत्वपूर्ण सुरुवातहरू युवा अवस्थामै भएका उदाहरण दिँदै भने, “सङ्घर्ष गर्नुपरे पनि सहनुपर्छ, हार मान्न हुन्न, एक दिन सफलता पक्कै आउँछ।”
देशका उदीयमान युवा प्रतिभाहरूलाई सफलतासँगै आउन सक्ने घमण्डबाट टाढा रहन पनि उनले सचेत गराए। व्यक्तिगत आत्मविश्वासलाई राष्ट्रिय आत्मविश्वासमा बदल्नुपर्नेमा जोड दिँदै उनले सफलताको शिखरमा पुगेपछि पनि आचरण र मेहनतलाई कहिल्यै नबिर्सन आग्रह गरे।
“सफलताको यात्रामा विनम्रता र निरन्तरको मेहनत अनिवार्य छ,” प्रधानमन्त्री ओलीले भने, “हरेक व्यक्तिले आफ्नो आचरण, मेहनत र गुणस्तरीय सम्भावनालाई पहिल्याउनुपर्छ।”
प्रतिक्रिया दिनुहोस्