अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण युवाहरूप्रति शुभकामना व्यक्त गर्दै राष्ट्र निर्माणको अग्रपंक्तिमा उभिन आह्वान गरेका छन्।
शुभकामना सन्देशमार्फत प्रचण्डले युवालाई सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणका लागि मुख्य शक्ति र दिगो विकासका लक्ष्य (SDGs) प्राप्तिमा अग्रणी भूमिका निर्वाह गर्न आग्रह गरे। उनले यस वर्षको अन्तर्राष्ट्रिय नाराले पनि युवाको पहलकदमीलाई आत्मसात गरेको उल्लेख गर्दै भने, “युवाहरू भविष्यको मात्र नेतृत्व होइनन्, वर्तमानकै राष्ट्र निर्माणका शक्ति हुन्।”
सन्देशमा उनले आफ्नै युवावस्थाको राजनीतिक यात्राको स्मरण गर्दै माओवादी आन्दोलन, जनयुद्ध र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा युवाहरूको बलिदानपूर्ण योगदानलाई उच्च सम्मान प्रकट गरे। “हामीले अगुवाई गरेको बलिदानीपूर्ण संघर्षले मात्र राजनीतिक व्यवस्थामा परिवर्तन ल्याएन, उत्पीडित समुदायका अधिकार सुनिश्चित गर्ने ऐतिहासिक उपलब्धिहरू पनि दिलायो,” प्रचण्डले भने।
उनका अनुसार, माओवादी नै देशको एक मात्र यस्तो पार्टी हो जसले पार्टीका सबै संरचनामा ४० प्रतिशतभन्दा बढी युवाको प्रतिनिधित्व सुनिश्चित गरेको छ।
प्रचण्डले माओवादी नेतृत्वका सरकारले ल्याएका युवामैत्री नीतिहरूको पनि स्मरण गरे। युवा स्वरोजगार कोष, राष्ट्रिय युवा परिषद्, स्टार्टअप प्रोत्साहन अभियान, रिटर्नी उद्यमी कार्यक्रमजस्ता योजनाले हजारौँ युवाको जीवनमा सकारात्मक परिवर्तन ल्याएको दाबी गर्दै उनले पछिल्ला सरकारले ती कार्यक्रमलाई निरन्तरता नदिएकोप्रति चिन्ता व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस्