Ads

प्रधानमन्त्री ओली आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने


प्रधानमन्त्री केपी शर्मा ओली आज अपराह्न १ः०० बजे बस्ने प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईँका अनुसार प्रधानमन्त्री ओलीले हालै सम्पन्न विदेश भ्रमण, सरकारका उपलब्धि तथा समसामयिक राजनीतिक, आर्थिक र कूटनीतिक विषयमा धारणा राख्नेछन्।

प्रधानमन्त्री ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन तुर्कमेनिस्तानको अवाजा सहर पुगेका थिए। सो भ्रमणपछि उनी साउन २३ गते स्वदेश फर्किएका हुन्।

आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र, उद्योग वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसङ्ख्या, र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नोत्तर हुनेछ। सम्बन्धित मन्त्रीहरूले सांसदहरूका प्रश्नहरूको जवाफ दिनेछन्।

त्यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि बैठकमा पेश गर्ने कार्यसूची रहेको छ।

Ads

सम्बन्धित पोष्टहरू