Ads

प्रधानमन्त्री र मन्त्रीहरूबिच आज कार्यसम्पादन सम्झौता हुँदै


चालू आर्थिक वर्षका प्रमुख लक्ष्य, प्राथमिकता र हासिल हुने उपलब्धिहरू सुनिश्चित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरूबीच आज कार्यसम्पादन सम्झौता हुने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो १ बजे मन्त्रालयगत वार्षिक प्रगति समीक्षा कार्यक्रमसँगै कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरी आदान–प्रदान गरिनेछ। गत वर्ष भदौ २७ गते मात्र यस्तो सम्झौता गरिएको भए पनि यस वर्ष करिब एक महिना अगावै सम्झौता हुन लागेका कारण वार्षिक कार्यहरू छिटो, प्रभावकारी र परिणाममुखी हुने अपेक्षा गरिएको प्रधानमन्त्री ओलीका निजी सचिव विनोदबहादुर कुँवरले जानकारी दिए।

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पूर्वाधार निर्माण, सेवा प्रवाह सुधार र निर्धारित समयसीमामा लक्ष्य सम्पन्न गर्ने उद्देश्यसहित कार्यसम्पादन सम्झौताको अभ्यास प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमै सुरु भएको हो।

प्रधानमन्त्रीसँगको सम्झौता पश्चात मन्त्रीहरूले आफ्ना सम्बन्धित सचिवहरूसँग पनि कार्यसम्पादन सम्झौता गर्ने व्यवस्था छ, जसले योजनाको कार्यान्वयनमा स्पष्ट जिम्मेवारी र जवाफदेहितालाई सुनिश्चित गर्ने सरकारको विश्वास छ।

Ads

सम्बन्धित पोष्टहरू