पछिल्लो समय परम्परागत बाजा सारङ्गी बजाएर जीविकोपार्जन गर्ने गन्धर्व समुदायको सङ्ख्या तीव्र रूपमा घट्दै गएको छ। नयाँ पुस्ताले सारङ्गीप्रति चासो नदेखाउँदा मात्र होइन, गाउँमा यस बाजा बजाउने मान्छे अभाव भइरहेकाले यस पेशा नै संकटमा परेको हो।
घोराही उपमहानगरपालिका–११ नयाँ बस्तीका डाइवर गन्धर्व करिब तीन दशकदेखि सारङ्गी बनाउँदै आएका छन्। तर, अहिले यो पेसाबाट गुजारा गर्नै मुस्किल भएको उनी बताउँछन्। “पहिले महिनामा सात–आठवटा सारङ्गी सजिलै बिक्थे, तर अहिले दुई–तीनवटा मात्रै बिक्री हुन्छन्। बनाएको नबिकेपछि नयाँ बनाउन पनि मन लाग्दैन। अहिले त सारङ्गी बजाउन होइन, कोठा सजाउन मात्र लिने चलन बढेको छ,” डाइवरले गुनासो गरे।
उनका अनुसार समय परिवर्तनसँगै गन्धर्व समुदायका मानिस गीत गाउने र सारङ्गी बजाउने परम्परा छाड्दै जाँदा यो पेसा ओरालो लागेको हो। गाउँमा सारङ्गी बजाउने मानिसै नभएपछि बनाइएका सारङ्गी बजारमा थन्किन थालेका छन्।
सारङ्गी बनाउन आवश्यक सामग्रीको अभाव पनि थप समस्या बनेको छ। राम्रो गुणस्तरको खमारी काठ सहजै नपाइने र सामुदायिक वनले जंगलमा जान रोक लगाउँदा आवश्यक काठ जुटाउन कठिन भएको उनी बताउँछन्। “चिनेका काष्ठ उद्योगबाट खमारी ल्याएर मात्र काम चलाउनुपर्छ,” डाइवरले बताए।
हाल साना आकारका सारङ्गी चारदेखि पाँच हजार रुपैयाँमा र ठूला तथा आकर्षक डिजाइनका सारङ्गी नौदेखि १० हजार रुपैयाँमा बिक्री हुने गरेको भए पनि माग भने न्यून छ। जिल्लामै सारङ्गी बनाउने आफू मात्रै बाँकी रहेको डाइवरको भनाइ छ।
सारङ्गी बजाएरै जीविका चलाउने गन्धर्व समुदायका थोरै मानिसलाई अहिले भविष्यको चिन्ता बढ्दै गएको छ। उनीहरू भन्छन्— “सारङ्गी हाम्रो मौलिक बाजा मात्र होइन, पहिचान पनि हो। यसलाई संरक्षण गर्दै व्यावसायिक बनाउन सकियो भने कला–संस्कृतिको जगेर्नासँगै रोजगारीको अवसर पनि सिर्जना हुन्छ।”
प्रतिक्रिया दिनुहोस्