काठमाडौंको भृकुटीमण्डपमा आजदेखि १७औँ नाडा अटो शो सुरु भएको छ।
नेपालकै ठूलो सवारीसाधन प्रदर्शनी मेला नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को आयोजनामा भइरहेको छ। आठौं दिनसम्म चल्ने यस शोको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन्। उद्घाटन समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी थिए।
उद्घाटन समारोहमा सम्बोधन गर्दै नाडा अध्यक्ष करण चौधरीले यसपटक शोमा केही नयाँ आकर्षण थप्न खोजिएको जानकारी दिए। उनले भने, “अवलोकनकर्ताले यस पटक दीपलको उड्ने ट्याक्सी र मानवीकृत रोबोट जस्ता आधुनिक प्रविधिहरूको प्रत्यक्ष अनुभव लिन सक्नेछन्।”
चौधरीले भौतिक पूर्वाधार मन्त्रालयले सवारीसाधन आयातसम्बन्धी मापदण्ड तयार गरिरहेको बताउँदै, नाडासँग सहकार्य गरी यस क्षेत्रमा सहजता ल्याउने अपेक्षा व्यक्त गरे। त्यस्तै, नाडा र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा चार्जिङ स्टेसन निर्माण भइरहेको छ र छिट्टै पूर्वाधारसम्बन्धी चुनौतीहरू समाधान हुने पनि जानकारी दिए।
यस अटो शोमा चारपांग्रे, दुईपांग्रे सवारीसाधनदेखि लिएर तिनका पार्ट्स–पुर्जासम्म विविध वस्तुहरूको प्रदर्शनी गरिएको छ। नविनतम प्रविधि र आकर्षक सवारीसाधनहरूको यो मेला व्यवसायी, विद्यार्थी तथा प्रविधि प्रेमीहरूको लागि रोचक अनुभव बन्ने देखिन्छ।
प्रतिक्रिया दिनुहोस्