भरतपुर महानगरपालिका–१३ स्थित बाटुलीपोखरी हाल घुँगीफोर गरुड (एशियन ओपनबिल) का लागि महत्त्वपूर्ण प्रजनन केन्द्रका रूपमा विकसित भएको छ। मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको व्यवस्थापनमा रहेको यस पोखरी क्षेत्रमा अहिले सयौँ घुँगीफोरले गुँड बनाई चल्ला कोरिरहेका छन्।
समूहका अध्यक्ष कृष्णहरि प्रसाईँका अनुसार, पोखरी वरिपरिको १०४ वटा रुखमा ४७८ वटा गुँड बनाइएका छन्। एउटै रुखमा १० वटासम्म गुँड देखिन्छ। उनले बताए, “घुँगीफोरले मुख्यतः सुक्खा रुखमा मात्र गुँड बनाउँछन्। १०४ मध्ये हरियो रुखमा केबल तीन वटामा मात्र गुँड भेटिएको छ।”
प्रजनन अवधिमा घुँगीफोरहरूको गतिविधि संरक्षणकर्मी र चराप्रेमीहरूका लागि आकर्षण बनेको छ। गुँडहरूमा असर नहोस् भनेर पोखरी क्षेत्रमा डुङ्गा लगायतका पर्यटकीय गतिविधि तत्कालका लागि रोकिएका छन्।
यस क्षेत्रलाई स्थानीयवासीले पहिले ‘ठूलो घोल’ भनेर चिनेका थिए, जहाँको पानी राप्ती नदीमा मिसिन्थ्यो। तर, विसं २०६५ मा गङ्गानगर सिँचाइ आयोजना र सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा ड्याम निर्माण गरी यसलाई पोखरीमा रूपान्तरण गरिएको हो। अहिले यो क्षेत्र सिँचाइका लागि मात्र नभई जैविक विविधताका लागि पनि महत्त्वपूर्ण केन्द्र बनेको छ।
अध्यक्ष प्रसाईँका अनुसार, सात वर्षयता घुँगीफोरहरू स्थायी रूपमा बाटुलीपोखरी आउन थालेका हुन्। “पहिले जाडोयाममा मात्र साइबेरियन चरा देखिन्थे, तर अहिले स्थानीय रैथाने प्रजातिका चराहरू बसोबास गर्न थालेका छन्,” उनले बताए।
घुँगीफोरले चैत–वैशाखमा गुँड बनाउन सुरु गर्ने, जेठमा अण्डा पार्ने र भदौमा चल्ला कोर्ने प्रजनन चक्र हुन्छ। ठूलो झुन्डमा सामूहिक रूपमा बस्ने बानीका कारण अन्य चरालाई सहजै आफ्नो उपस्थिति थाहा नहुने उनीहरूको विशेषता रहेको छ।
पहिले घुँगीफोरले बीसहजारी तालमा गुँड बनाउने गरे पनि त्यहाँका रुख कुहिएपछि नयाँ वासस्थानका रूपमा बाटुलीपोखरी रोजेको बताइन्छ। अध्यक्ष प्रसाईँ भन्छन्, “घुँगीफोरले मात्र सुक्खा रुखमा गुँड बनाउने भएकाले त्यस्ता रुख संरक्षण गर्न अहिलेको प्राथमिक आवश्यकता हो।”
प्रतिक्रिया दिनुहोस्