वरिपरि घना जङ्गल । छेउमै सुसाउने उत्तरगङ्गा नदी । नदी किनारमा रहेको छ ‘दिज गाउँ’ । काठै काठले सजाइएका घर र गाउँले जनजीवन । यही दृश्यले आकर्षित गरिरहेको छ आगन्तुकलाई ।
जोडिएर बनेका काठका मौलिक घर र स्थानीयको रहनसहन अझ चाखलाग्दो छ । ढोरपाटन उपत्यकाभन्दा केही पर रहेको दिज गाउँ पर्यटनको सम्भावना भए पनि बत्ति मुनीको अँध्यारो बनेको छ ।
गाउँको मौलिकता र सुन्दरतालाई बाहिर प्रचार गर्न नसक्दा आगन्तुक दिज गाउँ पुग्न नसकेको ढोरपाटन नगरपालिका–९ का अध्यक्ष खिमबहादुर घर्ती मगरले बताए । लामो समयसम्म स्वास्थ्य, शिक्षा, खानेपानी र विद्युतलगायतका पूर्वाधार नजोडिएको यस गाउँमा स्थानीय सरकार आएपछि विस्तारै विकास हुन थालेको उनको भनाइ छ ।
दिज गाउँमा अहिलेसम्म सडक पुगेको छैन । स्थानीयले बजारबाट बोकेरै उपभोग्य सामान ढुवानी गर्नुपर्ने बाध्यता छ । ढोरपाटन सिकार आरक्षले अवरोध गर्दा गाउँमा सडक नजोडिएको स्थानीय बताउँछन् । यो गाउँमा अहिलेसम्म काठैकाठका बाहेक अन्य वस्तुले बनेका घर छैनन् । विस्तारै विकासले गति लिन थालेको स्थानीय मनबहादुर घर्तीले बताए । पहिलेदेखिनै समय–समयमा फाट्टफुट्ट पर्यटक आउने गरे पनि धेरै सङ्ख्यामा भित्र्याउन नसकेको उनको भनाइ छ ।
यस क्षेत्रमा हिउँदको बेला बढी चिसो हुने हुँदा बर्खाको समयमा पर्यटक आउने गर्छन् । पछिल्लो समय निसेलढोर जाने पर्यटक दिज गाउँ पस्ने गरेका छन् । गर्मी छल्न ढोरपाटन आउने पर्यटक घुम्दैफिर्दै दिज गाउँ आउने गरेका छन् । गाउँमा आइपुग्न उत्तरगङ्गा नदीमा काठे साँघु बनाइएको छ । यो पुल हेर्नका लागि पनि पर्यटक दिज आउने गर्छन् । गाउँ निकै सुन्दर भए पनि बास बस्न व्यवस्थित ठाउँ नहुँदा ढोरपाटनमै आउनु परेको भैरहवादेखि आउनुभएका कुशलराज बेलवासेले बताए ।
प्रतिक्रिया दिनुहोस्