नेपाली हास्य क्षेत्रमा सम्मानित व्यक्तित्व तथा चर्चित कलाकार हरिवंश आचार्यले निभाएको लोकप्रिय पात्र ‘हरिबहादुर’ अब पहिलोपटक चलचित्रमार्फत ठूलो पर्दामा प्रस्तुत हुन लागेको छ । टेलिशृङ्खला र रङ्गमञ्चमा देखिएको यस पात्रले समाजका विकृति–विसङ्गतिमाथि व्यङ्ग्य प्रहार गर्दै दर्शकको मन जितेको थियो । धेरैका लागि यो पात्र बाल्यकालको मधुर सम्झना बनेको छ ।
गएको वैशाखमा प्रदर्शन भएको ‘भूठान’ चलचित्रमा गम्भीर भूमिकामा देखिएका आचार्य यसपटक भने आफ्नै शैलीमा हँसाउँदै मनोरञ्जन दिने तयारीमा छन् । आउँदो चलचित्र ‘हरिबहादुरको जुत्ता’ मा उनी फेरि हास्यपूर्ण पात्रमा दर्शकमाझ फर्कँदैछन् । बुधबार टिजर सार्वजनिक कार्यक्रममा बोल्दै उनले भने,
“भूठानमा काम गरेपछि दर्शकले मलाई केवल त्यस्तै भूमिकामा मात्र देख्छन् कि भन्ने चिन्ता थियो । तर म सबै किसिमका पात्रमा काम गर्न चाहन्छु । ‘हरिबहादुरको जुत्ता’ मा फेरि रमाइलो भूमिकामा देख्न सक्नुहुनेछ ।”
चलचित्रको पटकथा र संवाद स्वयं आचार्यले लेखेका हुन् । उनका अनुसार, गायक सरोज ओलीलाई यस चलचित्रको अवधारणा सुनाएपछि उहाँ निर्माणमा जुटे र चलचित्रलाई स्वरूप दिइयो । “यस चलचित्रमा देखिने पात्रसँग दर्शक सजिलै जोडिनेछन् भन्नेमा विश्वस्त छु,” उनले बताए ।
दसैँलाई लक्षित गर्दै असोज १३ गतेबाट प्रदर्शनमा आउने यस चलचित्रलाई दीपेन्द्रकुमार खनालले निर्देशन गरेका छन् । हरिवंश आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, हरिहर शर्मा, किरण केसी, राजाराम पौडेल, दिव्य देव, सीता न्यौपाने, कमलमणि नेपाललगायतका कलाकारले अभिनय गरेका छन् ।
चलचित्रमा सरोज ओली र मोहितवंश आचार्यले निर्माणको जिम्मा सम्हालेका छन् । छायाङ्कन कृष्णबहादुर थापा, सम्पादन नकुल खड्का र संगीत वसन्त सापकोटा, दीपक शर्मा तथा प्रकाश सपुतले गरेका छन् ।
यसरी करिब चार दशकअघि टेलिभिजन र मञ्चमार्फत जन्मिएको प्रिय पात्र ‘हरिबहादुर’ अब चलचित्रको पर्दामा फर्कन लाग्दा दर्शकमाझ ठूलो उत्साह देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्