Ads

चीनको ऐतिहासिक सैन्य परेड, ओलीलगायत विश्व नेताहरूको उपस्थिति


जापानी आक्रमणविरुद्ध प्राप्त ऐतिहासिक विजयको ८०औँ वार्षिकोत्सवको अवसरमा चीनले आगामी भदौ १८ गते बेइजिङमा भव्य सैन्य परेड आयोजना गर्ने भएको छ ।

यस अवसरमा चीनले पहिलो पटक विश्वका विभिन्न राष्ट्रका शीर्ष नेताहरूको उपस्थितिमा आफ्नो सैन्य शक्ति प्रदर्शन गर्ने तयारी गरेको हो । बीबीसीका अनुसार परेडमा चीनले नवीनतम हतियार र प्रविधि, जसमा सैयौँ युद्धविमान, ट्याङ्क, एन्टी–ड्रोन प्रणाली लगायतका अत्याधुनिक सैन्य उपकरण प्रदर्शन गर्नेछ ।

यस ऐतिहासिक समारोहमा सहभागी हुन चीनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई औपचारिक आमन्त्रण गरेको छ । प्रधानमन्त्री ओली भदौ १६ देखि तिआन्जिनमा आयोजना हुने साङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलन–२०२५ लाई सम्बोधन गर्ने र त्यसपछि बेइजिङमा हुने विजय दिवस परेडमा सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परेडमा उत्तर कोरियाली नेता किम जोङ उनले पनि भाग लिने निश्चित भएको छ । साथै, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, इरानी राष्ट्रपति मसूद पेजेस्कियानसहित २६ देशका राष्ट्रप्रमुख तथा सरकारप्रमुखहरू सहभागी हुनेछन् ।

सन् १९३०–४० को दशकमा जापानसँगको लामो युद्धमा लाखौँ चिनियाँ नागरिक मारिएका थिए । सन् १९३९ मा जर्मनीले पोल्याण्डमाथि आक्रमण र १९४१ मा जापानले अमेरिकाको पर्ल हार्बरमा आक्रमण गरेपछि द्वितीय विश्वयुद्ध विश्वव्यापी बनेको थियो ।

चिनियाँ कम्युनिस्ट पार्टीले विगतका वर्षहरूमा युद्धकालीन प्रतिरोधको स्मरणमा विभिन्न कार्यक्रम गर्दै आएको छ । यसपटकको विजय दिवस परेडलाई चीनले “फेरि कहिल्यै घुँडा नटेक्ने संकल्प” को प्रतिवद्धता प्रस्तुत गर्ने अवसरका रूपमा लिएको छ ।

उत्तर कोरियाको सरकारी सञ्चार माध्यम कोरियन सेन्ट्रल न्युज एजेन्सी (KCNA) ले पनि किम जोङ उनको सहभागिता ‘कमरेड सी जिनपिङको निमन्त्रणामा’ हुने औपचारिक घोषणा गरेको छ ।

Ads

सम्बन्धित पोष्टहरू