Ads

सडक विस्तारसँगै गाउँघरको निगुरो सहरबजार पुग्दै, आम्दानीको प्रमुख स्रोत


गाउँघरका खोलाखोल्सी र वनपाखामा पाइने निगुरो यहाँका स्थानीयवासीको आय–आर्जनको प्रमुख स्रोत बनेको छ । विगतमा खेर गइरहेको निगुरो सडक सञ्जालको विस्तारसँगै अहिले सहरबजारमा पुगेपछि गाउँमै राम्रो मूल्य पाउन थालेको हो ।

टेम्केमैयुङ–५ चोलन्तीका डम्बरबहादुर विष्टका अनुसार गाउँमा सङ्कलन गरिएको निगुरो धरान, इटहरी, विराटनगर, झापा हुँदै काठमाडौंसम्म पुग्ने गरेको छ । “सडक विस्तार भएपछि बेचबिखन गर्न सहज भएको छ,” उनले भने, “बर्सेनि यो याममा सङ्कलन गरेर बिक्री गर्दै आएका छौँ, यसबाट घरखर्च चलाउन पनि सजिलो भएको छ ।”

स्थानीय लालबहादुर विष्टले पातसहितको भन्दा डाँठमात्र भएको निगुरोले बजारमा अझ राम्रो मूल्य पाउने बताए । उनका अनुसार प्रतिकेजी ४० रुपैयाँसम्ममा ठेकेदारहरूले घरमै पुगेर निगुरो लैजाने गरेका छन् । एक जनाले दैनिक एकदेखि दुई डोकोसम्म निगुरो सङ्कलन गर्ने गरेका छन् ।

पहाडी क्षेत्रमा प्रशस्तै पाइने उनीउ प्रजातिको यो वनस्पति बर्खायाम सुरु भएसँगै जेठ–असारदेखि कात्तिक महिनासम्म बेचबिखन हुने गरेको छ । अर्ग्यानिक भएको र सहरबजारमा सहजै नपाइने भएकाले पहाडी क्षेत्रको डाँठे निगुरो तराईतिरभन्दा बढी रोजाइमा रहेको स्थानीयवासीको भनाइ छ ।

विगतमा पशुचरणका लागि मात्र प्रयोग हुँदै आएको निगुरोले अहिले गाउँघरमा आर्थिक आम्दानीको नयाँ बाटो खोलेको छ ।

Ads

सम्बन्धित पोष्टहरू