Ads

योगेश भन्छन् : ‘हात्ती र ड्रैगन मिल्नु स्वागतयोग्य, तर अर्काको जंगल नफाडून्’


काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले भारत–चीन सम्बन्धबारे टिप्पणी गर्दै दुई छिमेकी शक्तिशाली मुलुकबीचको मित्रतालाई सकारात्मक भनेका छन्। तर, उनले त्यो मित्रता तेस्रो मुलुकको हितविपरीत नजानुपर्नेमा जोड दिएका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत् विचार राख्दै भट्टराईले लेखेका छन्, “हात्ती र ड्रैगन मिल्नु राम्रो हो, हामी पनि स्वागत गर्दछौँ। तर सवाल भनेको दुई मिलेर अर्काको जंगल नफाडून भन्ने हो।” उनले भारत र चीनबीचको आपसी समझदारी क्षेत्रीय स्थायित्व र सहकार्यका लागि महत्त्वपूर्ण हुने बताएका छन्।

सात वर्षपछि चीन भ्रमणमा पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार चिनियाँ राष्ट्रपति सी चिनफिङसँग करिब ५० मिनेट लामो भेटवार्ता गरेका थिए। भेटमा सीमा विवाद, द्विपक्षीय सम्बन्ध सुधार र क्षेत्रीय सहकार्यका विषयमा छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

भेटका क्रममा राष्ट्रपति सीले भारतलाई ‘हात्ती’ र चीनलाई ‘ड्रैगन’को संज्ञा दिँदै दुवै देश सँगै अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका थिए। उनले भनेका थिए, “प्रधानमन्त्री मोदीलाई भेट्दा खुशी लागेको छ। ड्रैगन (चीन) र हात्ती (भारत) अब सँगै आउनुपर्छ।”

विश्लेषकहरूका अनुसार भारत–चीनबीचको सम्बन्ध सुधारले क्षेत्रीय शक्ति सन्तुलनमा ठूलो प्रभाव पार्नेछ। तर, भट्टराईले भने नेपालजस्ता छिमेकी मुलुकहरूको सार्वभौमिकता र हितलाई ख्याल नगरी हुने कुनैपनि सहकार्य अस्वीकार्य हुने स्पष्ट सन्देश दिएका छन्।

Ads

सम्बन्धित पोष्टहरू