काठमाडौं । नेकपा (एमाले)ले आगामी विधान महाधिवेशन तयारीका लागि केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक भदौ १९ गते दिउँसो ३ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।
गौतमले जानकारी दिँदै भने, “भदौ २० देखि २२ गतेसम्म गोदावरीमा हुने विधान महाधिवेशनलाई लक्षित गर्दै सचिवालय बैठक बोलाइएको हो। बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनमाथि विस्तृत छलफल हुनेछ।”
उनका अनुसार सचिवालय बैठकमार्फत आवश्यक सबै दस्तावेज प्रस्ताव गरी विधान महाधिवेशनमा लैजाने तयारी गरिएको छ। यसअघि केन्द्रीय कमिटी बैठक बस्ने चर्चा भए पनि समय अभावका कारण बैठक स्थगित गरिएको उनले स्पष्ट पारे।
गौतमले थपे, “यसअघि नै केन्द्रीय कमिटी बैठकमार्फत सुझाव संकलन भइसकेको छ। विधान महाधिवेशनका प्रतिनिधिहरू सार्वभौम हुनुहुन्छ, आफ्ना विचार त्यही राख्न सक्ने व्यवस्था मिलाइएको छ।”
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भदौ १८ गते चीन भ्रमण सकेर स्वदेश फर्किने कार्यक्रम रहेको छ। त्यसको भोलिपल्टै सचिवालय बैठक बस्ने गरी तालिका तय गरिएको हो।
प्रतिक्रिया दिनुहोस्