काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले राजनीतिलाई क्षणिक आवेगसँग होइन, गहिरो मूल मूल्य र आधारसँग जोडिनुपर्ने बताएका छन् । पार्टीभित्र ‘नव गणेश’ र गैर वामपन्थी चरित्र हावी हुँदै गएको प्रसङ्गमा उनले सामाजिक सञ्जालमार्फत यस्तो धारणा राखेका हुन् ।
“राजनीतिले पिरती हरेक वसन्तमा झर्ने पातसित होइन, रुखको जरासँग लाउनु पर्छ,” उनले लेखेका छन् । उनका अनुसार नेताले सत्य–तथ्य बोलेपछि दीर्घकालीन रूपमा फाइदा पुग्छ तर तत्कालीन रूपमा भने समस्या देखिने गरेको छ ।
बास्कोटाले पार्टीभित्र ‘दिनभन्दा लिन’ आउने प्रवृत्तिले संगठन कमजोर हुने टिप्पणी गरेका छन् । “कमरेड प्रदीप ज्ञवालीले राम्रो कुरा उठाउनुभएको रहेछ, धन्यवाद। मैले पनि यस्तै कुरा उठाएँ,” उनले भने, “तर पार्टीमा दिन होइन, लिन आएका नव गणेश र गैर वामपन्थी चरित्रका पत्कर उचालेर निरन्तर प्रहार गरियो।”
उनले आन्तरिक पार्टी जीवनमा योगदान र विचारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै तत्कालीन लाभमा केन्द्रित प्रवृत्तिबाट पार्टीलाई जोगाउन आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्