काठमाडौँ । नेपाल सरकारको दर्ता अनिवार्य गर्ने निर्णयपछि नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जालहरू क्रमशः बन्द हुँदै गएपछि ती कम्पनीहरूले सरकारले तोकेको प्रक्रिया बुझ्न सम्पर्क गर्न थालेका छन्।
बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दर्ता नगरेका २६ वटा डिजिटल प्लेटफर्मलाई नेपालभित्र निष्क्रिय गर्ने निर्णय सार्वजनिक गरेको थियो। त्यसलगत्तै मेटा कम्पनीका प्रतिनिधिले मन्त्रालयसँग सम्पर्क गर्दै दर्ता प्रक्रियाबारे प्राविधिक तथा कानुनी जानकारी लिन खोजेका छन्।
मन्त्रालय स्रोतका अनुसार अमेरिकी अर्बपति एलन मस्कको स्वामित्वमा रहेको एक्स (पूर्व ट्विटर) ले पनि नेपाल सरकारसँग दर्ता प्रक्रिया सुरु गर्न चासो देखाएको छ। मन्त्रालयले आवश्यक कागजी प्रक्रिया र कानुनी आधारबारे कम्पनीहरूलाई जानकारी दिइरहेको जनाएको छ।
यसअघि दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले मन्त्रालयको निर्देशनअनुसार फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएपलगायतका प्रमुख सामाजिक सञ्जाल सेवा बन्द गर्न थालेका छन्। फलस्वरूप, अहिले धेरै प्रयोगकर्ताले ती सञ्जालमा पहुँच पाउन सकेका छैनन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार प्राधिकरणको पत्र, सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषद्को निर्णय तथा मन्त्रीस्तरीय आदेशका आधारमा दर्ता नगरेका प्लेटफर्म बन्द गरिएको हो। मन्त्रालयले दर्ता प्रक्रिया पूरा गर्ने कम्पनीहरूलाई आवश्यक सहयोग र सहज वातावरण उपलब्ध गराइने स्पष्ट पारेको छ।
प्रतिक्रिया दिनुहोस्