Ads

एमालेको विधान महाधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने


नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशन आज (शुक्रबार)देखि ललितपुरको गोदावरीमा सुरु भएको छ। महाधिवेशनको औपचारिक उद्घाटन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको हो।

पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशन ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने नाराका साथ सम्पन्न हुँदैछ। महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ।

यसैगरी, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना प्रतिवेदन महाधिवेशनमा प्रस्तुत गर्नेछन्। प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफल हुनेछ।

बिहीबार केन्द्रीय सचिवालय बैठकमा फरक मत दर्ता गराएका स्थायी कमिटी सदस्य कर्ण थापाले समेत आज आफ्नो धारणा राख्ने कार्यक्रम रहेको गौतमले जानकारी दिनुभयो।

अध्यक्ष ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशको विश्लेषण गर्दै वर्तमानका प्रमुख चुनौती, पार्टीको कार्यदिशा, कार्यभार, समाजवाद स्थापनाको मार्गचित्रलगायत विषय समेटिएको छ। उक्त प्रतिवेदनमा जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्न तथा नेपाली विशेषतासहितको समाजवाद स्थापनाका लागि विशेष राजनीतिक प्रस्ताव प्रस्तुत गरिएको छ। साथै, ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई पार्टीको गन्तव्यका रूपमा अघि बढाउने दृष्टिकोण प्रतिवेदनमा समेटिएको छ।

महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधि र ३१५ जना आयोजक सहभागी भएका छन्। यसअघि, २०७८ सालमा विधान महाधिवेशन सम्पन्न भएको थियो।

Ads

सम्बन्धित पोष्टहरू