Ads

दमौलीकी कल्पना गौली : शिक्षण र बुटिकपछि सफल कृषकको प्रेरणादायी यात्रा


व्यास नगरपालिका–२ दमौलीकी कल्पना गौलीले शिक्षण र बुटिक व्यवसायमा लामो अनुभव सँगालिसकेपछि कृषितर्फ मोडिएकी छन्। सोह्र वर्ष शिक्षण र १५ वर्ष बुटिक सञ्चालन गरेकी गौली विगत तीन वर्षदेखि व्यावसायिक रूपमा ड्रागनफ्रुट (सिउँडीफल) खेती गर्दै आएकी हुन्।

व्यास नगरपालिका–५ ढोडेनीमा ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी नौ रोपनी जग्गा २० वर्षका लागि भाडामा लिएर खेती थालेकी उनले हाल सात रोपनीमा ड्रागनफ्रुट लगाएकी छन्। बाँकी दुई रोपनीमा आवश्यक संरचना निर्माण गरिएको छ। फार्मको प्रारम्भिक पूर्वाधार निर्माण, बेर्ना खरिद र बगान विकासमा झण्डै रु १ करोड ५० लाख खर्च भएको उनले जानकारी दिइन्।

गत वर्ष ड्रागनफ्रुटसहित गिठ्ठा, सिस्नो, पिँडालु, मस्यौरा र मौसमी तरकारी बिक्रीबाट करिब रु २० लाख आम्दानी भएको थियो। यस वर्ष चौथो छिमलको ड्रागनफ्रुट मात्रै बजारमा पुर्याउँदा हालसम्म रु ८ लाख ५० हजार आम्दानी भइसकेको छ।

“बजारको कुनै समस्या छैन,” गौली भन्छिन्, “दमौली बजारमै गाडीमार्फत बिक्री गर्छु। साथै, प्रत्येक शुक्रबार आँबुखैरेनी हाटबजारमा पनि उच्च माग हुन्छ। त्यहाँ मात्र साप्ताहिक करिब ३०० किलोसम्म बिक्री हुने गरेको छ।”

उनका अनुसार, स्थानीय व्यापारीहरूले बाहिरी जिल्लाबाट ल्याइएका फलफूलभन्दा स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका छन्। यसले आफूलाई अझ उत्साहित बनाएको उनले बताइन्।

ऋषिङ गाउँपालिका–१ झापुटारस्थित माइतीको जग्गामा खेती गर्ने योजना बनाए पनि पानीको अभावका कारण उनले ढोडेनीमै भाडामा जग्गा लिएर खेती विस्तार गरेकी हुन्। भारतबाट ल्याइएका बेर्नाबाट सात रोपनीमा ५२५ पोलमा ड्रागनफ्रुट रोपिएको छ। फार्मभित्र गोदाम, एसीसहितको कोल्डरुम, गार्डहाउस र बगान अवलोकनका लागि भ्यूटावरसमेत निर्माण गरिएको छ।

विशेष कुरा के छ भने, गौलीले आफ्नो बगानमा रासायनिक मल प्रयोग नगरी जैविक मलमै ड्रागनफ्रुट उत्पादन गर्दै आएकी छन्।

Ads

सम्बन्धित पोष्टहरू