नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई संविधानविरोधी र जनविरोधी कदम भएको आलोचना गरेका छन्।
प्रचण्डले आरोप लगाए, “वर्तमान सरकारले सामाजिक सञ्जालमार्फत सरकारविरुद्धको आलोचना दबाउन, आफ्ना कार्यलाई सुरक्षित राख्न र अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ। संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लङ्घन गर्दै सामाजिक सञ्जाल बन्द गर्ने निर्णय अलोकतान्त्रिक र जनविरोधी छ।”
उनले थपे, सरकारले सर्वोच्च अदालतको निर्देशन अनुसार सामाजिक सञ्जाल प्रकाशन र प्रसारणसम्बन्धी कानुनी व्यवस्था बनाउनुपर्ने भए पनि उक्त आदेशको अपव्याख्या गरेको बताएका छन्। यसले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक र उनका परिवारबीचको सम्पर्क जटिल र असहज बनाउने तथा अर्थतन्त्रमा नकारात्मक असर पार्ने प्रचण्डको चेतावनी छ।
“हाम्रो पार्टी सामाजिक सञ्जाल नियन्त्रणको पक्षमा छैन, तर उचित नियमनको पक्षमा अडिग छ। संसदमा विचाराधीन विधेयकलाई सरोकारवालाको सहभागिता र अपनत्व सहित अघि बढाउनुपर्ने बेला कार्यकारी आदेशमार्फत सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक कदम हो,” उनले भने।
प्रचण्डको यो अभिव्यक्ति सरकारले सामाजिक सञ्जाल नियन्त्रणमा देखाइरहेको नियन्त्रणकारी दृष्टिकोण र लोकतान्त्रिक मूल्यको संरक्षण सम्बन्धी विवादको केन्द्रविन्दु बन्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्