काठमाडौँ । सरकारले हालै सम्पन्न जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकका परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
आज सिंहदरबारमा पदभार ग्रहण गर्दै नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मृतकका परिवारलाई आर्थिक राहत दिने घोषणा गर्नुभएको हो। सरकारले गरेको यस निर्णयबारे जानकारी मुख्य सचिव एकनारायण अर्यालले दिनुभयो।
गत मङ्गलबार र बुधबार देशका विभिन्न स्थानमा भएको आन्दोलनका क्रममा प्रदर्शनकारीसहित विभिन्न पक्षमा गरी ५१ जनाले ज्यान गुमाएका थिए।
सरकारले मृतक परिवारलाई राहत रकम वितरणको प्रक्रिया तत्काल अघि बढाउने जनाएको छ।
प्रधानमन्त्री कार्कीले जिम्मेवार सरकारका रूपमा जनताको ज्यान, अधिकार र स्वतन्त्रताको रक्षा गर्न आफू दृढप्रतिज्ञ रहेको उल्लेख गर्दै सहिदहरूको बलिदानलाई न्याय दिने प्रतिज्ञा गर्नुभएको छ।
प्रतिक्रिया दिनुहोस्