Ads

‘भोजपुरे खुकुरी’ संकटमा : पुस्तान्तरण नहुँदा कालीगढ पेसा लोप हुने चिन्ता


भोजपुर । परम्परागत ‘भोजपुरे खुकुरी’ बनाउने कालीगढ पेसा पुस्तान्तरण र संरक्षणको अभावमा संकटमा परेको छ। नयाँ पुस्ताले यो पेसाप्रति चासो नदिँदा र दक्ष जनशक्ति कमी हुँदै जाँदा उत्पादन घटेको व्यवसायीहरूको गुनासो छ।

स्थानीय व्यवसायीहरूका अनुसार, भोजपुरे खुकुरीको माग केवल स्थानीय बजारमा सीमित छैन, बाहिरी जिल्ला र अन्तर्राष्ट्रिय बजारसम्म विस्तार भएको छ। तर दक्ष कालीगढ अभावका कारण मागअनुसार उत्पादन हुन नसक्दा व्यवसाय नै धरापमा परेको छ।

स्थानीय कालीगढ हर्कबहादुर विश्वकर्माले भन्नुभयो, “पछिल्लो समय भोजपुरे खुकुरीको देश–विदेशबाट माग बढिरहेको छ। तर गाउँघरमा दक्ष जनशक्ति नहुँदा उत्पादनमा कमी आएको छ। बजारको माग धान्नै मुस्किल भइरहेको छ। पेसामा पुस्तान्तरणको अभाव देखिएको छ।”

भोजपुरमा उत्पादन हुने भोजपुरे, सिरुपाते, चित्लाङ्गे, कोथीमोडा खुकुरीप्रति बजारमा बढी आकर्षण देखिन्छ। आकार र डिजाइनअनुसार यी खुकुरीको मूल्य न्यूनतम रु १ हजारदेखि अधिकतम रु २० हजारसम्म पर्छ। व्यवसायी दिनेश गजमेरका अनुसार, बाहिरी जिल्लाबाट दुई–चार सयवटा खुकुरीको माग त धान्न सकिने भए पनि ठूलो मात्रामा माग बढ्दा उत्पादन अभावका कारण पुरा गर्न गाह्रो हुने गरेको छ।

विगतमा भोजपुरमा धेरै कालीगढ यस पेसामा सक्रिय भए पनि पछिल्ला वर्षहरूमा व्यावसायिक रूपमा यसैलाई जीविकोपार्जन गर्नेहरूको सङ्ख्या तीव्र रूपमा घटेको छ। बढी मेहनत गर्नुपर्ने, आवश्यक कच्चा पदार्थ सजिलै नपाइने र विदेशिने लहर तीव्र बनेकाले नयाँ पुस्तामा यो पेसाप्रति मोह हराउँदै गएको व्यवसायीहरूको बुझाइ छ।

खुकुरी मात्र नभई खेतीपातीका लागि आवश्यक कृषि औजार उत्पादन गर्ने परम्परागत आरन उद्योगहरू समेत बन्द हुँदै गएका छन्। यसले कृषि उत्पादन र स्थानीय जीवनशैलीमा समेत असर पर्न थालेको छ। संरक्षण र पुस्तान्तरणमा राज्य र समाजले ध्यान नदिने हो भने भोजपुरको ऐतिहासिक र सांस्कृतिक पहिचान नै संकटमा पर्ने चिन्ता स्थानीयवासीले व्यक्त गरेका छन्।

Ads

सम्बन्धित पोष्टहरू