काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आगामी बिहीबार बिहान साढे ११ बजे फोनवार्ता हुने भएको छ। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, दुवै नेताबीचको यो वार्ता नेपाल–भारत सम्बन्ध र सहकार्यका विषयमा केन्द्रित हुने अपेक्षा गरिएको छ।
यसअघि मंगलबार नै वार्ता गर्ने प्रारम्भिक तयारी भएपनि नेपालमा सार्वजनिक शोक बिदा दिइएको कारण अन्तिम समयमा तालिका सारिएको हो। प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले भने, “भोलि शोक बिदा भएकाले वार्ता स्थगित भएको हो। अब पर्सि बिहान साढे ११ बजे फोनवार्ता हुने पक्का भएको छ।”
प्रधानमन्त्री कार्की गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनको दबाबमा बनेको अन्तरिम सरकारको नेतृत्व गरिरहेकी छन्। सरकार गठन भएलगत्तै भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत कार्कीलाई बधाई दिँदै नेपालमा महिला नेतृत्वको उदयलाई ऐतिहासिक उपलब्धि भन्दै प्रशंसा गरेका थिए।
मोदीले गत शनिबार मणिपुरमा आयोजित एक कार्यक्रममा समेत प्रधानमन्त्री कार्कीलाई नेपालको राजनीतिक परिवर्तन र महिला सशक्तीकरणको सशक्त उदाहरणका रूपमा उल्लेख गरेका थिए।
दुवै नेताबीच हुने फोनवार्ता पछिल्लो राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै नेपाल–भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्