Ads

आन्तरिक लेखापरीक्षण प्रतिवेदन र सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण पेस


काठमाडौँ, । महालेखा नियन्त्रक कार्यालयले नेपाल सरकारको गत आर्थिक वर्ष २०८१/८२ को केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण, आन्तरिक लेखापरीक्षणको वार्षिक प्रतिवेदन र नेपाल सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण पेस गरेको छ ।

महालेखा नियन्त्रक शोभाकान्त पौडेलले आज अर्थमन्त्री रामेश्वरप्रसाद खनालसमक्ष यी प्रतिवेदन तथा विवरणहरु पेस गरेका हुन् । त्यस्तै, महालेखा नियन्त्रक कार्यालयले आजै केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण तथा नेपाल सरकारको चल, अचल सम्पत्ति र दायित्वको एकीकृत वार्षिक विवरण महालेखा परीक्षकको कार्यालयमा पेस गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता दीपक लामिछानेका अनुसार नेपाल सार्वजनिक क्षेत्र लेखामान तथा महालेखापरीक्षकबाट स्वीकृत लेखा ढाँचाअनुरुप तयार पारिएको यी विवरण एवम् प्रतिवेदनमा नेपाल सरकारको बजेट र एक्स्ट्रा बजेटरी निकायका प्रचलित कानुनले तोकेका विवरणहरु समावेश गरिएका छन् ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१र८२ मा नेपाल सरकारको सञ्चित कोष रु एक खर्ब ९६ अर्ब ३४ करोड ५९ लाखले ऋणात्मक तथा नगद अवस्था रु ३१ अर्ब ३४ करोड ६१ लाखले ऋणात्मक छ । यद्यपि, विभिन्न कोषहरुको मौज्दात एवं एक्स्ट्रा बजेटरी निकायको बाँकी मौज्दात रकमका आधारमा नगद तथा बैङ्क मौज्दात रु ६५ अर्ब ८१ करोड २६ लाखले धनात्मक देखिएको प्रवक्ता लामिछानेले जानकारी दिए।

Ads

सम्बन्धित पोष्टहरू