Ads

वाम एकताअघि माओवादी केन्द्रको गम्भीर छलफल, जनार्दन शर्मा अनुपस्थित


नेकपा (माओवादी केन्द्र)ले पार्टीभित्रका आन्तरिक संगठनात्मक विषयमा विस्तृत छलफल गरेको छ । आइतबार राजधानीमा बसेको सचिवालय बैठकले केन्द्रीय समिति बैठक कात्तिक १८ गते (मंगलबार) का दिन बस्ने निर्णय गरेको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

उनका अनुसार माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र अन्य वाम दलबीचको संभावित एकतालाई लक्षित गर्दै कात्तिक २० गते संयुक्त बैठक बस्ने निर्णय पनि गरिएको छ ।

सापकोटाले बैठकमा एकता प्रक्रियापछि पार्टी पुनःसंरचना, संगठनात्मक समायोजन र वैचारिक दिशाबारे प्राथमिक छलफल भएको बताए । “एकतापछि नयाँ दलको दर्ता, नीतिगत र संरचनात्मक समायोजनका विषयमा वैचारिक तयारीका लागि बैठक केन्द्रित रह्यो,” उनले भने ।

यसबीच, सचिवालय सदस्य जनार्दन शर्मा आइतबारको बैठकमा सहभागी भएनन् । उनले शनिबारको बैठकमा आफ्नो धारणा राखेपछि आइतबार अनुपस्थित रहँदै बैठक बहिष्कार गरेका हुन् ।

सचिवालय संयोजक समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शर्मा बैठकबाट बाहिरिएको प्रसंगलाई ‘अराजकता’को संज्ञा दिएका थिए ।

नेता शर्माले भने वैचारिक स्पष्टता, विगतको आलोचनात्मक समीक्षा र संगठनात्मक तयारीबिना गरिने कुनै पनि एकताले वाम आन्दोलनलाई बलियो बनाउने होइन, उल्टो कमजोर पार्ने चेतावनी दिएका छन् ।

पार्टीभित्र अहिले वाम एकता, नेतृत्वको कार्यशैली र संगठन सुदृढीकरणका विषयमा गम्भीर बहस सुरु भएको माओवादी स्रोतले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू