नेपाली कांग्रेसभित्र सुधार र पुस्तान्तरणको माग तीव्र बन्दै गएको छ। यही मागका साथ ‘कांग्रेस सुधार अभियान (अन्डर–४०)’ का युवाहरूले सोमबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा सुरक्षा घेरा तोड्दै प्रदर्शन गरेका छन्।
अभियानमा संलग्न समूह पार्टी मुख्यालयको मुख्य गेटसम्म पुगेर प्रतीकात्मक तालाबन्दी गर्दै नेतृत्वप्रति असन्तुष्टि जनाए। प्रहरीको बाक्लो सुरक्षा घेराबीच पनि उनीहरू गेटसम्म पुग्न सफल भएका थिए।
प्रदर्शनकारीहरूले पार्टीभित्र लामो समयदेखि रोकिएको नियमित महाधिवेशन तत्काल गर्नुपर्ने र संगठनमा ४० वर्षमुनिका युवाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग अघि सारे।
गेट बाहिरै बसेर उनीहरूले “नियमित महाधिवेशन गर्न नसके, वर्तमान केन्द्रीय समिति विघटन गरियोस् !”, “आम कांग्रेसजन र युवाहरूको भावनालाई नजरअन्दाज नगरियोस् !” जस्ता नारा लगाउँदै नेतृत्वको ढिलासुस्तीमाथि आक्रोश पोखेका थिए।
जेन–जी आन्दोलनका क्रममा पार्टी कार्यालयमा भएको आगजनीपछिका घटनालाई मध्यनजर गर्दै सानेपामा सुरक्षा तैनाथी बढाइएको थियो। यद्यपि सोमबार बिहानको प्रदर्शनमा अभियानका कार्यकर्ताहरूले प्रहरीको पहिलो सुरक्षा घेरा तोड्दै गेटसम्म पुग्न सफल भएका थिए।
पार्टी कार्यालय प्रवेशद्वार बन्द गरिएपछि उनीहरू बाहिरै सडकमा बस्दै धर्ना र नाराबाजी गर्दै प्रदर्शनलाई निरन्तरता दिएका थिए।
अभियानका प्रतिनिधिहरूका अनुसार कांग्रेसले समयसापेक्ष सुधार र पुस्तान्तरण नगरे पार्टी कमजोर बन्दै जाने खतरा छ।
एक अभियान सदस्यले भने, “कांग्रेसको भविष्य युवाको हातमा छ, तर निर्णय तहमा उनीहरूको पहुँच छैन। हामी सुधारको आवाज उठाउँदैछौँ, विद्रोह होइन — पुनर्जागरणको माग गर्दैछौँ।”
अन्डर–४० अभियानको यो प्रदर्शनले कांग्रेसभित्र संगठनात्मक सुधार र नेतृत्व पुस्तान्तरणको नयाँ बहस सुरु गरेको छ। युवाहरूले अहिलेको नेतृत्वले जनभावना र समयको माग सुन्न नसके पार्टीभित्र आन्दोलन अझ सशक्त बन्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्