दुर्लभ वन्यजन्तुमा सूचीकृत कृष्णसार (Blackbuck) अवलोकनका लागि आन्तरिक र विदेशी पर्यटक बर्दियाको कृष्णसार संरक्षण क्षेत्रतर्फ आकर्षित हुने गरेका छन्। यो संरक्षण क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जदेखि करिब ४५ किलोमिटर टाढा, गुलरिया नगरपालिका–२ खैरापुरमा अवस्थित छ।
कृष्णसार संरक्षण क्षेत्रको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा स्वदेशी, सार्क मुलुकका र अन्य विदेशी गरी ४ हजार ६ सयभन्दा बढी पर्यटकले कृष्णसार अवलोकन गरेका थिए। यद्यपि चालू आर्थिक वर्षमा वर्षातको मौसमका कारण पर्यटक संख्यामा केही कमी आएको बताइएको छ। अधिकांश पर्यटक दिनभर कृष्णसार अवलोकन गरेपछि बर्दिया निकुञ्जमा रहेका होटल तथा रिसोर्टहरूमा फर्किने गर्छन्।
सरकारले संरक्षण क्षेत्र घोषणा गरेपछि यहाँ प्रवेश शुल्कलाई तीन वर्गमा विभाजन गरिएको छ। विदेशी पर्यटकका लागि शुल्क रु. २,०००, सार्क देशका पर्यटकका लागि रु. ५००, र स्वदेशी पर्यटकका लागि रु. १०० निर्धारण गरिएको छ।
हाल संरक्षण क्षेत्रमा करिब २ सय ४८ वटा कृष्णसार रहेका छन्। यो प्रजाति खुला घाँसे मैदान, विशेषगरी दुबो र काँसका क्षेत्रमा बस्न रुचाउँछ। गाउँ नजिकैका मैदानमा गाई, भैँसी, भेडा–बाख्रासँगै चरिरहेको देखिनु यसको स्वभावको हिस्सा हो। यिनीहरूको नियमित अनुगमन र गणना गरेर संख्या अद्यावधिक गरिँदै आएको छ।
नेपाल सरकारले २०६५ साल चैत ३ गते कृष्णसार संरक्षण क्षेत्रको घोषणा गरेको हो। यसको कुल क्षेत्रफल १६.९५ वर्ग किलोमिटर छ, जसमा ५.२७ वर्ग किलोमिटर क्षेत्र कृष्णसारको वासस्थान र बाँकी ११.६८ वर्ग किलोमिटर वरपरको प्रभावित क्षेत्रका रूपमा रहेको छ।
संरक्षण क्षेत्रलाई व्यवस्थित बनाउन भौतिक पूर्वाधार निर्माण, वासस्थान सुधार र व्यवस्थापनका कामहरू निरन्तर भइरहेका छन्। यसै क्रममा दीर्घकालीन कृष्णसार संरक्षण क्षेत्र व्यवस्थापन योजना तयार पारिँदैछ, जसअनुसार भविष्यमा यसको संरक्षण र सञ्चालनको जिम्मेवारी क्रमशः स्थानीय समुदायलाई हस्तान्तरण गर्ने लक्ष्य राखिएको छ।
कृष्णसार संरक्षण क्षेत्र बर्दियाको जैविक विविधताको महत्वपूर्ण प्रतीक मात्र नभई पर्यटकीय सम्भावनाको नयाँ गन्तव्यका रूपमा पनि स्थापित हुँदै गएको छ।






प्रतिक्रिया दिनुहोस्