नेकपा (एकीकृत समाजवादी) पार्टीकी नेतृ रामकुमारी झाँक्रीको संयोजकत्वमा संवाद समिति गठन हुने भएको छ। केहीबेरमा घोषणा हुने कार्यक्रमबारे नेकपा (एस) का नेता गम्भीरलाल श्रेष्ठले जानकारी दिँदै समितिको संयोजक झाँक्री र सह–संयोजक किसान श्रेष्ठ रहने गरी तयारी गरिएको बताएका छन्।
समितिले नेकपा (एमाले) सँग पार्टी एकता वा समायोजनका विषयमा औपचारिक संवाद अघि बढाउने जिम्मेवारी पाउनेछ। यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएका चरणबद्ध छलफलहरूपछि नेकपा (एस) भित्र नेतृत्वसँग असन्तुष्ट समूह एमालेमा फर्किने तयारीमा जुटेको थियो।
पार्टी अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि नेकपा (एस) तीन भागमा विभाजित भएको हो। एकातिर नेपालको माओवादी केन्द्रसँग एकता पक्ष, अर्कोतर्फ महासचिव घनश्याम भुसालसहितको पुनर्गठन पक्ष, र तेस्रोतर्फ एमालेमा फर्कने तयारीमा रहेको असन्तुष्ट समूह रहेका छन्।
नेता श्रेष्ठका अनुसार, एमालेमा फर्कने तयारीमा रहेको समूहमा प्रतिनिधिसभाका पाँच, राष्ट्रियसभाका दुई सदस्यसहित स्थानीय तहमा निर्वाचित करिब ८० प्रतिशत जनप्रतिनिधिहरू समावेश हुने सम्भावना छ। उक्त समूहले अघिल्लो वर्ष दल विभाजन अध्यादेश कुरेर बसेको भए पनि अहिले एमालेमै एकीकृत हुने अन्तिम तयारीमा लागेको बताइएको छ।
यसरी रामकुमारी झाँक्री नेतृत्वको संवाद समितिको औपचारिक घोषणा आज हुने भएकाले नेकपा (एस) भित्रको आन्तरिक शक्ति सन्तुलन र भावी राजनीतिक समीकरणमा यसको महत्वपूर्ण प्रभाव पर्ने अनुमान गरिएको छ।
प्रतिक्रिया दिनुहोस्