नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले समाजवादी पार्टीसँगको आफ्नो राजनीतिक यात्रा टुंगिँदा दुःख होइन, बरु सन्तोष महसुस भएको बताएकी छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले “आजको दिन दुःखको होइन, आत्मसन्तोषको हो” भन्दै पार्टीसँगको लामो यात्राको अन्त्यको घोषणा गरिन् ।
उनका अनुसार समाजवादी पार्टीसँगको यात्रा सुरु गर्दा सुधारको आशा थियो तर पार्टीले अपेक्षित रूप लिन नसकेकोले अन्ततः त्यो यात्रालाई पूर्णविराम लगाउनुपरेको हो । झाँक्रीले भनिन्, “यो यात्रा अवरुद्ध छ भन्ने कुरा हामीले धेरै पहिल्यै बुझिसकेका थियौँ । गलत बाटो हो भन्ने पनि थाहा थियो, तर सुधार गर्ने जिम्मेवारी हाम्रो काँधमा थियो । त्यसैले बीचमै यात्रा टुंग्याउन सकेका थियनौँ । आज त्यो यात्रा अन्त्य भएको छ र हामी एक हिसाबले खुशी नै छौँ ।”
उनले समाजवादी पार्टी निर्माणका क्रममा एउटा नयाँ राजनीतिक अभियानको विश्वास बोकेर अघि बढिएको बताइन् तर त्यो विश्वास अहिले सकिएको उल्लेख गरिन् । “नेकपा (एकीकृत समाजवादी) पार्टीले एउटा नयाँ सोच र अभ्यास ल्याउने आशा थियो । तर त्यो विश्वास आज सकिएको छ । समाजवादी पार्टीसँगको यात्रा त्यस पार्टीकै विघटनसँगै टुंगिएको हो,” झाँक्रीले स्पष्ट पारिन् ।
उनले थपिन्, “पार्टी भित्रपनि धेरै नयाँ सोच र आइडियाहरू छन् । थुप्रै साथिहरू हाम्रो साथमा छन् । अब हामी नयाँ बाटोमा अघि बढ्नेछौँ । आज दिउँसो १ बजे हाम्रो नयाँ राजनीतिक यात्राको औपचारिक घोषणा हुनेछ ।”
झाँक्रीले समाजवादी पार्टी निर्माणको ऐतिहासिक सन्दर्भ पनि स्मरण गरिन् । उनका अनुसार उक्त पार्टी त्यस्तो समयमा बनेको थियो, जब देशका ठूला दलभित्र अन्तरिक लोकतन्त्र सिमित बन्दै गएको थियो । उनले भनिन्, “त्यो बेला जनतामा भरोसा थियो, र हामीले त्यो भरोसालाई राजनीतिक दिशामा डोर्याउने विश्वासका साथ समाजवादी पार्टी बनाएका थियौँ । तर समय र परिस्थितिले त्यो विश्वास कमजोर बनायो र अन्ततः पार्टी विघटनको दिशामा पुग्यो ।”
उनले अन्त्यमा भनिन्, “यो कुनै अन्त्य होइन, नयाँ यात्राको सुरुवात हो । अब हामी जनताको वास्तविक मुद्दा र लोकतान्त्रिक मूल्यका आधारमा नयाँ राजनीतिक यात्रामा अघि बढ्नेछौँ ।”
प्रतिक्रिया दिनुहोस्