Ads

कांग्रेसमा महाधिवेशनको दबाब तीव्र, शर्मा भन्छन्– “विधानले पुसभित्रै गर्न बाध्य पारेको छ”


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी अब आगामी पुसभित्र नै महाधिवेशन गर्नुपर्ने बाध्यात्मक परिस्थितिमा पुगेको बताएका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले भनेका छन्, “५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेका छन् । विधानको दफा १७(२) अनुसार, यस्तो माग दर्ता भएपछि ९० दिनभित्र विशेष महाधिवेशन सम्पन्न गर्नैपर्छ । यो बाध्यात्मक प्रावधान हो, विकल्प होइन ।”

शर्माका अनुसार, नेपाली कांग्रेसको विधानले नियमित महाधिवेशन पुस, माघ, वैशाख वा त्यसअघि–पछि गर्न रोक्दैन । तर विशेष महाधिवेशन भने ९० दिनभित्र अनिवार्य सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्था रहेको उनले स्मरण गराए ।

उनले थपे, “५४ प्रतिशत प्रतिनिधिले लिखितरूपमा विशेष महाधिवेशनको माग गरेपछि अब यो मागलाई या त विशेष महाधिवेशन गरेर, या सोही अवधिभित्र नियमित महाधिवेशन गरेर मात्र सम्बोधन गर्न सकिन्छ । यस विषयमा कुनै ‘इफ, बट, इन्तु, परन्तु’ को ठाउँ छैन।”

कांग्रेसको केन्द्रीय समिति बैठक अहिले पनि महाधिवेशनको मिति निर्धारणका विषयमा तीव्र विवादबीच चलिरहेको छ । संस्थापन पक्षले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने तर्क गरेको छ । तर संस्थापनभित्रै पनि यसमा एकमत हुन सकेको छैन ।

महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा भने निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने अडानमा छन् । उनीहरूको भनाइमा, पार्टीभित्रको लोकतान्त्रिक अभ्यास सुदृढ पार्न र नेतृत्वमा नयाँ जनमतको म्यान्डेट लिन अब महाधिवेशनलाई ढिलो गर्न मिल्दैन ।

पार्टीको भविष्य र नेतृत्वगत दिशाबारे निर्णायक बन्न सक्ने यो विषयमा अन्ततः केन्द्रीय समितिको निर्णयले नै कांग्रेसको आगामी राजनीतिक यात्राको स्वरूप तय गर्ने देखिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू