आँखै अगाडि चाँदीझैँ टल्किने माछापुच्छ्रे हिमालसहितको मनोरम हिमशृङ्खला, वरिपरि हरियाली वनजंगल, ढुङ्गाले छापिएका घरहरू र घुमाउरो बाटाहरू — यही हो हेम्जाकोट, कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–६ मा अवस्थित एक सुन्दर गाउँ, जहाँबाट दक्षिणतर्फ पोखरा सहर स्पष्ट देखिन्छ।
माछापुच्छ्रे हिमालको काखमा अवस्थित यो गाउँ हालसम्म आरोहण नभएका हिमालको सौन्दर्यसँग घनिष्ठ सम्बन्ध राख्दछ। प्रकृतिक र ऐतिहासिक दुवै दृष्टिले महत्वपूर्ण हेम्जाकोट वाइसे–चौवीसे राजाहरूको पालादेखि अस्तित्वमा आएको मानिन्छ। गाउँ माथिको ऐतिहासिक कोटमा तत्कालीन राजाहरूको दरबार रहेको र यही “कोट”को नामबाट “हेम्जाकोट” नामकरण भएको मान्यता सामुदायिक हेम्जाकोट होमस्टेका अध्यक्ष ईश्वर गुरुङले बताए।
गाउँकै अर्कोतर्फ रहेको अर्को जयकोट नामको स्थान धार्मिक र सांस्कृतिक दृष्टिले प्रसिद्ध छ। वनबीचमा अवस्थित यस कोटमा हरेक वर्ष बलिपूजा गर्ने परम्परा रहेको छ। यहाँ दिइएको बलिको प्रसाद महिलाले खान नहुने र घरमा पनि लैजान नहुने विश्वास रहँदै आएको छ।
सांस्कृतिक र ऐतिहासिक महत्त्वका साथै प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो गाउँमा पर्यटन प्रवर्द्धनका उद्देश्यले २०६२ सालदेखि घरवास (होमस्टे) कार्यक्रम सुरु गरिएको हो। अध्यक्ष गुरुङका अनुसार सुरुमा एउटामात्र घरमा प्रारम्भ गरिएको घरवास सेवा अहिले बढेर १२ घरमा सञ्चालनमा आएको छ। कोभिड–१९ अघिसम्म १६ वटा घरमा होमस्टे सञ्चालन भए पनि महामारीपछिको प्रभावले केही घटेको हो।
यहाँका स्थानीयले पर्यटकलाई स्वागतका लागि खाजा, बेलुकाको खाना, बास र बिहानको नास्तासहित रु. १,२०० को आकर्षक प्याकेज निर्धारण गरेका छन्। पोखराको सिमपानीबाट याम्दी, मिलनचोक, मेलबोट हुँदै माछापुच्छ्रे गाउँपालिकाको धिताल पार गरेपछि करिब १८ किलोमिटर दूरीमा हेम्जाकोट पुगिन्छ।
अधिकांश गुरुङ समुदायको बसोबास रहेको यो गाउँमा करिब ५० घर छन्, जसअन्तर्गत १२ घरमा करिब ८० जना पाहुना एकसाथ अटाउने व्यवस्था छ। सन् २०१५ (वि.सं. २०७२) मा नेपाल सरकारको पर्यटन मन्त्रालयले यस गाउँलाई “उत्कृष्ट गाउँ पर्यटन गन्तव्य”को रूपमा घोषित गरेको थियो।
हेम्जाकोटबाट माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङलगायत हिमशृङ्खलाको विहंगम दृश्यावलोकन गर्न सकिन्छ। साथै छिमेकी गाउँ ल्वाङको हरियो चियाबारी पनि यहाँबाट देख्न सकिन्छ। “माछापुच्छ्रे मोडल ट्रेक”मा पर्ने भएकाले यहाँ पर्यटकीय मौसममा स्वदेशी र विदेशी पर्यटकको चहलपहल बढ्ने गरेको छ।
तर, रमणीय दृश्य र मौलिक संस्कृति हुँदाहुँदै पनि अझै अपेक्षित संख्यामा पर्यटक आकर्षित गर्न नसकिएको घरवास सञ्चालक पूर्ण गुरुङ बताउँछन्। उनका अनुसार, “हेम्जा मेलबोटबाट सुरु हुने माछापुच्छ्रे मोडल ट्रेक अस्ताम, धिताल, हेम्जाकोट, धम्पुस, अष्ट्रेलिया क्याम्प, पोथना, पितम देउराली, लान्द्रुक हुँदै छोम्रोङ र अन्ततः अन्नपूर्ण बेस क्याम्पसम्म पुग्छ।”
माछापुच्छ्रेको छायाँमा बसिएको हेम्जाकोट आजकल केवल होमस्टे र पदयात्रा गन्तव्य मात्र होइन, फिल्म र म्युजिक भिडियो छायाङ्कनका लागि पनि आकर्षणको केन्द्र बन्दै गएको छ। माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङका शब्दमा —
“शान्त वातावरण, गुरुङ संस्कृति र हिमालको टल्किने दृश्य — यही हो हेम्जाकोटको वास्तविक सौन्दर्य।”
प्रतिक्रिया दिनुहोस्